डा कोइरालाको अगुवाइमा बन्ने बाल अस्पताललाई वाणिज्य बैंकद्वारा ५० लाख सहयोग

नेपाल लाइभ | २०७६ फागुन १४ बुधबार | Wednesday, February 26, 2020 १७:२८:०० मा प्रकाशित

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई ५० लाख रुपैंया आर्थिक सहयोग गरेको छ। 

किओचका वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालासहितको समूहले निर्माण गर्न लागेको अत्याधुनिक बाल अस्पताल हो। 

बैंकले बुधबार केन्द्रीय कार्यालयमा एक औपचारिक कार्यक्रम गरी बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले किओचका संस्थापक अध्यक्ष डा कोइरालालाई ५० लाख रुपैंयाको चेक हस्तान्तरण गरेका थिए। 

बैंक सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले बैंकले व्यावसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत सहयोग गरिएको बताए।

‘बाल स्वास्थ्यका क्षेत्रमा यो पवित्र काम हो। त्यसैले यो पवित्र काममा हामी पनि सँगसँगै जान खोजेका हौं। बैंकले गरेको यो सबैभन्दा ठूलो धनराशी हो,’ उनले भने।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बालबालिकको उपचारका लागि अस्पताल बन्नु राम्रो काम भएको प्रतिक्रिया दिए। 

उनले अस्पताल बनेर सञ्चालनमा आएपछि पनि बैंकको सहयोग निरन्तर हुने बताए।

किओचका अध्यक्ष डा कोइरालाले नेपालमा उपचारात्मक सेवातर्फ भने धेरै काम गर्न बाँकी रहेकोले अस्पताल बनाउने सपना देखेको बताए। उनले विभिन्न क्षेत्रमा अस्पताल निर्माण गरिएका सहयोगको सही ठाउँमा सदुपयोग गर्ने विश्वास दिलाए।

बाल स्वास्थ्यका क्षेत्रमा सरकारले समुदायस्तरमा आधारित रोकथामका कार्यक्रम गरेको भएपनि अझै बच्चा बिरामी भयो भने कुन अस्पतालमा लगेर उपचार गर्ने भन्ने द्विविधा कायमै रहेको बताएका थिए।

‘बाल स्वास्थ्यको क्षेत्रमा रोकथामको तहमा राम्रै काम भएका छन्। तर अझैपनि बालबालिकाको राम्रो उपचार कहाँ हुन्छ भन्न सक्दैनौँ। राजधानीबाहिर त झन समस्या छ। यही समस्यालाई समाधान गर्न हामी यो अभियानमा जुटेका हौं,’ उनले भने। 

कार्यक्रममा काठमाडौंसहित सबै प्रदेशमा बालरोग अस्पताल निर्माण हुने जानकारी डा कोइरालाले दिएका थिए। 

पहिलो चरणमा काठमाडौंमा त्यसपछि दोस्रो चरणमा हरेक प्रदेशमा  एक सय शैय्याका अस्पताल बन्ने उनको भनाइ छ।

डा कोइरालाका अनुसार यो अभियानअन्तर्गत अस्पताल निर्माण गर्दै सेवा प्रवाह गर्ने काम काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले गर्ने छ। त्यसका लागि काम सुरु भइसकेको जानकारी उनले दिए।

पहिलो चरणमा सन् २०२३ सम्म काठमाडौँं अस्पताल सञ्चालनमा ल्याउने योजना रहेको डा कोइरालाले सुनाए। 

त्यसपछि चरणमा प्रदेशस्तरमा अस्पताल निर्माण गर्ने बताइएको छ।