क्रान्तिप्रति रोल्पाली 'खबपु' को वितृष्णा किन? 

भानु बोखिम | २०७६ फागुन ६ मंगलबार | Tuesday, February 18, 2020 १४:२२:०० मा प्रकाशित

 पाँच वर्ष अघि रोल्पामा भेटिँदा उनी खबपु चञ्चल मगरका रुपमा चिनिन्थे। खबपुको पुरा अर्थ खड्गबहादुर पुन हो, जो अहिले रियालिटी शो कमेडी च्याम्पियन नेपालमा भाग लिन काठमाडौंमै छन्। एक साताअघि व्यंग गर्ने क्रममा उनले आफ्नै जिल्लाबाट सुरु भएको माओवादी युद्धलाई विषयवस्तु बनाए। तर त्यो खाली हसाउँन गरिएको प्रहसनमात्र थिएन, सिद्धान्त र दर्शनबाट विचलित माओवादीप्रतिको गुनासो पनि थियो। 

खबपुको क्रान्तिप्रतिको व्यंग शान्ति प्रकृया पछि बदलिँदै गएका माओवादी नेताहरु प्रतिको व्यंग थियो। माओवादीले ठूला-ठूला सपना बाँडेका थिए। अभाव, अशिक्षामा पिल्सिएका रोल्पालीका लागि ती सपना यति सुन्दर थिए कि उनीहरुले जीवनमोह बिर्सिए। जीवन बदल्नका लागि बलिदानी दिन तयार भए। माओवादी युद्धको क्रममा सबभन्दा धेरै रोल्पाबाट मरे। सपनासँग जोड्दा जति सुन्दर थियो माओवादी युद्ध, त्यति नै असहज थियो यथार्थ भोग्नु।

 खबपु चञ्चल मगर त्यही यथार्थमा हुर्केका हुन्। शान्ति प्रकृयासँगै माओवादीहरु काठमाडौं छिरेपछि खबपुजस्तै धेरै रोल्पालीहरु पुरानै लयमा फर्किन बाध्य भए। युद्धपछिका दिनमा खबपु पनि एउटा आम मानिसको लयमा आए। आफ्नै खुबी र सीप प्रयोग गरेर बाँच्ने कोशिस गरे र गरिरहेका छन्। उनी भावना पोख्न गजल लेख्छन्। विरह पोख्न बाँसुरी बजाउँछन्। जीवन त उदासीमात्र हैन, रमाउनका लागि आफ्नै गाउँठाउँका भाका गाउँछन्। गाउँघरका घटना र दैनिकी जोडेर चुट्किला भन्छन्। बाँसुरीको धुन र चुट्किलाले एकछिन हसाउँछ जरुर, तर त्यसैले जीवन भने चल्दैन। त्यसका लागि उनले रोल्पामा स्टेसनरी पनि चलाए, जहाँ साहित्यदेखि पाठ्यक्रमका किताबसम्म बेचिए।

यी सबै क्रान्तिले देखाएको सपनाभन्दा फरक अभ्यास र प्रयास थियो। यो अर्थमा खबपुका लागि क्रान्ति र समृद्धिको सपना देखाउनेहरु झुटा साबित भए। यस्तो अनुभूति गर्ने खबपु एक्लो रोल्पाली हैनन्। उनको अनुभूतिले अधिकांस रोल्पालीको पीडा र गुनासाको प्रतिनिधित्व गर्छ। 

सबैभन्दा पहिले क्रान्तिको सपना माओवादीको कुन नेताको मस्तिष्कमा पलायो? यसको बहस वा खोजिनीतिको अर्थ अब खासै नरहला। तर माओवादी नेता अहिले कुन बाटोमा हिँडिरहेका छन्? कुन मनोविज्ञानबाट निर्देशित छन्। उनीहरुको राजनीतिक उद्देश्य अब के छ? यी कुराहरुले भने अवश्य अर्थ राख्छ। 

क्रान्तिको नाममा चलेको माओवादी युद्धले पुरै देश प्रभावित पार्‍यो। तर यसको सुरुवात हुने जिल्लामध्ये रोल्पा किन पछि पर्न गयो? हरेक क्रान्तिको बिज सबभन्दा पहिले एक व्यक्तिको मस्तिस्कमा अंकुरण हुन्छ। सबैभन्दा पहिले क्रान्तिको सपना माओवादीको कुन नेताको मस्तिष्कमा पलायो? यसको बहस वा खोजिनीतिको अर्थ अब खासै नरहला। तर माओवादी नेता अहिले कुन बाटोमा हिँडिरहेका छन्? कुन मनोविज्ञानबाट निर्देशित छन्। उनीहरुको राजनीतिक उद्देश्य अब के छ? यी कुराहरुले भने अवश्य अर्थ राख्छ। 

साथै, क्रान्तिको उदगम थलो किन रोल्पा र रुकुमलाई नै किन बनाईयो? आज खबपुको मनमा खेलेको पीडा र मस्तिष्कमा उब्जिएको पीडासँग अवस्य तादाम्यता राख्छ। निसन्देह यसको सम्बन्ध सामाजिक, आर्थिक अवस्था र राजनीतिक चेतनासँग पनि जोडिन पुग्छ। 

कम्युनिष्ट दर्शन र सिद्धान्तप्रति झुकाव राख्ने रोल्पालीको चेतनाले पनि रोल्पालाई माओवादी युद्धको उदगम थलो बनाउन मदत पुगेको हो। यसमा पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंहको योगदान छ। तर यो एउटा आधारविन्दु हो। राजनीतिक आस्थाका आधारमा सरकारले लगाउने झुटा मुद्धा साथै रोल्पालीले भोगिरहेको कष्ट, गरिबी, अभाव पनि माओवादी युद्धका आधार थिए। यही आधारमा अघि बढेको माओवादी युद्ध १० वर्ष चल्यो। 

माओवादी शान्ति प्रकृयामा आएको पनि १४ वर्ष भइसकेको छ। यहाँसम्मको यात्रामा माओवादीले जति परिवर्तन गरेको दाबी गर्छ, त्योभन्दा धेरै आफैं परिवर्तन भएको छ। सिद्धान्तबाट विमुख भएपछि सिद्धान्तका आधारमा माओवादीलाई विश्वास गर्नेहरु दुःखी हुनु स्वाभाविक हो। 

हिजो क्रान्तिको निम्ति बन्दुक बोक्न अभिप्रेरित गर्नेहरु आज सरकारमा छन्। अफसोस यसमा छ कि सत्तामा पुगेपछि माओवादी पनि पुरानै संरचनाको अंश भएको छ। राजनीतिको यो परिदृश्यमा रोल्पा, रुकुमले धेरै गुमाएर थोरैमात्र पाएको अनुभूत गरेको छ। 

कुनै पनि स्थान विशेषको मानिस क्रान्तिमा लाग्नु उनीहरुको गल्ती हैन। त्यो सरकारको अदुरदर्शिता र असफलतासँग जोडिएको हुन्छ। रुकुम, रोल्पाका धेरै मानिसले माओवादी युद्धको समर्थन गरे। तुलनात्मक रुपमा रोल्पा रुकुमप्रति तत्कालीन राज्यसत्ता बढी आक्रामक पनि भयो। यही कारण अन्य जिल्लाको तुलनामा यी जिल्लामा धेरै सर्वसाधारणले ज्यान गुमाए। हिजो क्रान्तिको निम्ति बन्दुक बोक्न अभिप्रेरित गर्नेहरु आज सरकारमा छन्। अफसोस यसमा छ कि सत्तामा पुगेपछि माओवादी पनि पुरानै संरचनाको अंश भएको छ। राजनीतिको यो परिदृश्यमा रोल्पा, रुकुमले धेरै गुमाएर थोरैमात्र पाएको अनुभूत गरेको छ। 

ठूलो मुल्य चुकाएको रोल्पा, रुकुमले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेताहरु जन्माएको छ। प्रायः हरेक सरकारमा केही थान मन्त्री पाएकै हुन्छ। नेता सरकारमा भएपछि त्यहाँका पढालेखाले राजनीतिक नियुक्ति पाएका छन्। तर यो उपलब्धी सीमित व्यक्तिका लागि हो। धेरैको नियति आज पनि उस्तै छन्। राजनीतिक स्टन्ट गर्न केही अनुपम योजना रोल्पा–रुकुम पुर्‍याइएका छन्। सडक र पुलहरु बन्दैछन्। तर यी सरकार सञ्चालनका सामान्य प्रकृयाका परिणामभन्दा केही हैनन्। 

खड्गबहादुर पुनसँग लेखक

यी कामले हिजो क्रान्तिमा लाग्नेको जीवनमा तात्विक भिन्नता ल्याएको छैन। हिजो पनि गरिब रोल्पाली काठमाडौं आउँदा इँटाभट्टाको मजदुर हुन्थे। आज पनि त्यो नियति फेरिएको छैन। उनीहरु सिंहदरबारमा बसेका नेतालाई सजिलै भेट्न पाउँदैनन्। हिजो उनीहरुले आफ्नो गाँस काटेर खुवाएका नेता आज ठेकेदार र व्यापारीको भान्सा पुगेको तस्बिरसार्वजनिक हुन्छ। उनीहरु हिजो जसको निशानामा थिए, आज उनीहरुकै सुरक्षा घेरामा छन्। नेताको नियत बदलियो तर जनताको नियति यथावत छ। गुनासो यति हो कि हजारौको बलिदानी एकाध नेताको जीवन समृद्ध पार्न थिएन। 

अहिलेको राजनीतिक व्यवस्था विद्रोही माओवादी र खुल्ला राजनीतिमा रहेका राजनीतिक दलबीचको सम्झौताको परिणाम हो। १२ बुँदे सहमतिको परिणाम माओवादीले युद्धकालमा बाँडेको सपनाजस्तो हुँदैन भन्ने निश्चित थियो। यो सहमतिलाई विभिन्न माओवादी नेताले विभिन्न कोणबाट हेर्ने र व्याख्या गर्ने काम गरे। आजको दिनमा ती नेताहरु विभाजित भएर फरक–फरक राजनीतिक पसल खोलेर बसेका छन्। 

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशीता माओवादी आन्दोलनको देन हो। तर यी राजनीतिक परिवर्तनले मात्र जनताको जीवन परिवर्तन हुँदैन। हिजोको युद्धकालमा आहत भएका मनहरु यी परिवर्तन हेरेरमात्र खुसी हुन सक्दैनन्।

यद्यपि मूल जरो भने प्रचण्डनेतृत्वको माओवादी नै हो, जो अहिले नेकपामा आबद्ध छ। सम्झौता अनिवार्य थियो, अन्यथा माओवादी निमिट्यान्न भएर जान्थ्यो भन्ने नेकपामा आवद्ध माओवादी समूुहको दाबी छ। माओवादीको यो विश्लेषण युद्धमा होमिएपछिको हो वा युद्धमा लाग्नुअगाडि नै थियो, यो छलफल र बहसको अर्काे पाटो हो। तर सम्झौताको बाटो हिडे पनि माओवादी यति बिघ्न स्खलित हुनुहुँदैन थियो। 

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशीता माओवादी आन्दोलनको देन हो। तर यी राजनीतिक परिवर्तनले मात्र जनताको जीवन परिवर्तन हुँदैन। हिजोको युद्धकालमा आहत भएका मनहरु यी परिवर्तन हेरेरमात्र खुसी हुन सक्दैनन्। यसका लागि सरकारले उनीहरुको जीवनशैलीमा सहजता ल्याउने काम गर्नुपर्छ। त्यसको निम्ति सफा नियत र उच्च नैतिकता चाहिन्छ। तर माओवादी नेताको नियत र नैतिकतामा माओवादी युद्धलाई नजिकबाट देखेका, भोगेकाले विश्वास गर्न छाडिसकेका छन्।

 हिजो संसार बदल्छौ भन्ने माओेवादीहरु, कर्मचारीको आनीबानीबाट आजित भयौं भनिरहेका छन्। उनीहरुको भनाइको आशय जनताको मतले निर्वाचित नेताभन्दा लोकसेवा पास गरेर आएको कर्मचारी धेरै बलियो छ। तर यथार्थमा कर्मचारी बलियो हैन, हिजो क्रान्ति गर्नेहरुको मनोबल खस्किएको हो। जब नियत र नैतिकतामा खडेरी लाग्छ, निश्चय नै मनोबल कमजोर हुन्छ।  

संसार बदल्छौं भन्ने क्रान्तिकारी किन यति कमजोर भए? यसको उत्तर सपाट छ। क्रान्ति उच्च नैतिकवानले उठाउने कदम हो। खुला राजनीतिमा आएपछि माओवादीले नैतिकता पुँजिवादीको जालोमा नराम्ररी बेरियो। खबपुको व्यंग एक थोक बोलेर अर्कै थोक गर्न उद्धत माओवादी नेताप्रति हो, सिंगो क्रान्तिप्रति हैन जहाँ खबपुजस्ता कैयौका सपनामाथि गरिएको कुठाराघात जोडिन पुग्छ।