चिनियाँ नीतिले खराब बनाएको कोरोना भाइरसको प्रकोप

इभो डाल्डार | २०७६ फागुन ७ बुधबार | Wednesday, February 19, 2020 १६:१७:०० मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी चिनफिङले ८ वर्षदेखि उनको देशको शासन प्रणाली अन्य विकासशील देशका लागि अनुकरणयोग्य ‘ग्रान्ड मोडेल’ भन्दै बाजा बजाइरहेका छन्। दुविधा छैन कि चीनले यो कालखण्डमा असामान्य आर्थिक सुधार गरेको छ, जसबाट चीनभित्र र बाहिरका कराेडौंले लाभ लिएका छन्। तर यसबीचमा नोबल कोरोना भाइरसको व्यापक संक्रमणमा चीनले आफ्नो देशको सरकारको तानाशाही चरित्रका कारण ठूलो मूल्य पनि चुकाएको छ। 

दुई महिनामा यो नयाँ भाइरस चीनभरि र चीनबाहिर पनि फैलिएको छ। हालसम्म (लेख प्रकाशित भएको मिति- १७ फेब्रुअरी) ६० हजार मानिस संक्रमित भएको र झण्डै १४ सयले यही भाइरसका कारण ज्यान गुमाइसकेको तथ्याङ्क छ। तर यो संख्याले भाइरस संक्रमणको वास्तविक फैलावट र प्रभावलाई ढाकछोप गरिएको देखाउँछ। चीनभित्र संक्रमितको संख्या चिनियाँ संचारमाध्यमले भनेको भन्दा निकै धेरै छ भन्ने देखिन्छ भने अफ्रिका, मध्यपूर्व र दक्षिण अमेरिकामा कमजोर स्वास्थ्य संयन्त्रका कारण ती क्षेत्रमा फैलिएको संक्रमणका बारेमा सूचना नै आइरहेका छैनन्।

संगठित कार्ययोजनाले यो नयाँ भाइरसको संक्रमण फैलिनबाट रोक्न सकिन्थ्यो, तर त्यसो भएन। त्यसो गर्नुको साटो चीनले गोप्यता र अकर्मण्यताको बाटो समायो, जसका कारण संक्रमणले महामारीको रुप लिएको यथार्थ हो । 

निमोनियाजस्तो लाग्ने यो रोग १ करोड ११ लाख मानिस भएको औद्योगिक शहर वुहानमा पहिलोपटक डिसेम्बरको सुरुमा भेटिएको थियो। सोही महिनाको अन्त्यसम्ममा वुहानका चिकित्सक र स्वास्थ्यकर्मीहरुले सन् २००२–२००३ मा ८ सय जनाको ज्यान लिएको सार्स रोगको जस्तै लक्षण भएका बिरामीको संख्यामा व्यापक वृद्धि भएको देखे। बिरामीहरुलाई क्वारेन्टाइनमा राखियो, तर वुहान स्वास्थ्य आयोगले आत्तिनुपर्ने कुनै कारण नभएको व्यहोराको सार्वजनिक सूचना प्रवाह गर्‍यो। वुहानको एक जिउँदा जन्तुको बजारबाट संक्रमण सुरु भएको फेला पारियो जुन बजार जनवरी १ मा बन्द गराइयो। त्यसको दुई दिनपछि कोरोना भाइरसको अनुवांशिक उत्पत्तिक्रम पत्ता लाग्यो । 

सरकारी सूचनाहरुले यो संक्रमण मानिसहरुमा फैलिने कुनै सम्भावना नरहेको बताइरहे र प्रशासनले सामाजिक सञ्जालमा सुरु भएका आशंकालाई राम्रैसँग दबायो । 

एउटा उल्लेखनीय घटनामा डा. वी वेनलियाङले आफ्ना सहकर्मीहरुलाई सार्सको जस्तै लक्षण भेटिएका आफ्ना बिरामीलाई क्वारेन्टाइनमा राखिएको जानकारीसहितको विच्याटमा पठाएको सन्देशलाई प्रशासनले खारेजमात्र गरेन, मनोगत र झूठो प्रचार गरेको तथा सामाजिक मर्यादामा खलल पुर्‍याउने गैरकानुनी काम गरेको आरोप लगायो। ती डाक्टर आफैं पछि कोरोनाबाट संक्रमित भए र उपचारका क्रममा उनको मृत्यु भयो। 

संक्रमण फेला परेको महिनौंसम्म पनि चिनियाँ प्रशासनले यसबारेमा विश्व स्वास्थ्य संगठनलाई बताएन। जसबाट यो भाइरसविरुद्ध गर्न सकिने संगठित प्रयास, यसबारेको अनुसन्धान, संक्रमणलाई न्यूनीकरण गर्न सकिने सम्भावना तथा संक्रमणकारी रोगका विश्वभरका विशेषज्ञहरुले गर्न सक्ने कामलाई निकै पछाडिसम्म धकेलिदियो। जनवरी २ देखि १८ सम्म त झन् चीनले संक्रमणका नयाँ घटना सार्वजनिक गर्नै चाहेन र यसको तीव्र संक्रमणलाई अवमूल्यन गर्ने प्रयत्न गरिरह्यो। अस्पतालमा संक्रमितहरुको भर्ना दर उच्च भइरहेकै बेला प्रशासकहरुले ४० हजार मानिसका लागि नयाँ वर्षको भोज नै आयोजना गरे। 

जब जनवरी २० उप्रान्त हुबेइ प्रान्तबाहिर पनि संक्रमितहरु देखिन थाले, बल्ल चिनियाँ प्रशासन सलबलायो र केही दिनमा ५ करोड मानिसको बसोबास रहेको हुबेइ प्रान्तलाई मानिसहरु आवतजावत पनि गर्न नपाउने गरि क्वारेन्टाइनमा राखिएको घोषणा भयो। 

तर यो निकै ढिलो भइसकेको थियो। देशैभरि संक्रमण फैलिसकेको थियो र विश्वका अन्य क्षेत्रमा पनि संक्रमितहरु भेटिन थालिसकेका थिए। मध्यजनवरीमा फाट्टफुट्ट संक्रमित भेटिएकोमा वुहानमा नयाँ संक्रमितहरुको संख्या केही सातामै दशौं हजार र मृतकको संख्या सयौंमा आकाशियो। 

चिनियाँ प्रशासनले अवस्था गम्भीर भइसकेको बुझे। तर बेइजिङले विश्व स्वास्थ्य संगठनलाई अनुसन्धानका लागि चीन पस्ने अनुमति दिएन। साथै रोगको सामना गर्न अमेरिका र अन्य देशले पठाउन चाहेको विशेषज्ञ सहयोग लिन अस्वीकार गरिरह्‍यो।  

सर्वसत्तावादी राजनीतिक प्रणालीले आकस्मिक संकटको सामना गर्ने सवालमा सही तरिकाले काम गर्न सक्दैन, विशेषतः तीव्र स्थानीय अनुक्रिया आवश्यक पर्ने संक्रमणकारी रोगहरुको प्रकोपका बेला। उनीहरुले आफ्ना अधिकारीहरुको अधिकार र शक्ति नियन्त्रणमा राखेका हुन्छन्। माथिल्लो ओहदादेखि नै जति नियन्त्रण कायम रहन्छ, तल्लो तहबाट कामको सुरुवातको सम्भावना उत्तिकै कम रहन्छ । खतरा र जोखिमहरु अनदेखा छाडिन्छन् र जो बोल्छन्, उनीहरुलाई डा. लिलाई जस्तै तत्काल सजाय दिएर अरुलाई समेत तर्साउने काम गरिन्छ। 

जब संक्रामक रोगका प्रकोपको कुरा आउँछ, ‘टपडाउन अप्रोच’ असफल हुन्छ। वास्तवमा त्यस्तो अवस्थालाई उनीहरुले संक्रमण फैलिनबाट रोक्न सकिने हुँदाहुँदै काममा ढिलाइ गरिदिन्छन् र अवस्थालाई झन् खराब तुल्याइदिन्छन्। जब मानिसहरुलाई सशक्तिकरण गरिन्छ, तबमात्रै सकारात्मक अभियान सही समयमा सुरु हुन सक्छ।

संयक्त राज्य अमेरिकाको वासिङ्गटनको स्नोहोमिस काउन्टीमा जब पहिलोपटक कोरोना भाइरसबाट संक्रमित भेटिए, त्यहाँका इपिडिमियोलोजिस्ट होलियान ब्रुसले रोग पुष्टिका लागि रोग नियन्त्रण तथा रोकथाम केन्द्रलाई पर्खेर बसेनन्। उनले संक्रमण फैलन नदिन तत्काल ती संक्रमितको सम्पर्कमा रहेका सबैलाई पहिचान गरे र उनीहरुलाई दुई सातासम्म अन्य मानिससँगको सम्पर्कबाट बाहिर रहन लगाए र परिणामतः संक्रमण फैलिएन पनि। 

निरंकुशतावादीहरु जिम्मेवारीबाट पन्छिन र दोषारोपण गर्न राम्रोसँग जान्दछन् । यसमा कुनै शंका छैन कि राष्ट्रपति सी हालको संकटका बेला प्राधिकारमा छन् र यसको सामना उनैले गर्नेछन् । तर चीनभित्र र बाहिरका मानिसहरले गोप्यता र नियन्त्रण घातक हुन सक्छ भन्ने कुरा बुझिसकेका छन् र चीनका नेताहरुले भन्ने गरेजस्तो त्यहाँको व्यवस्थाको प्रभावकारितामाथि प्रश्न गर्न सुरु गर्नेछन्। 

काेरिया हेराल्डमा १७ फेब्रुअरीमा 'चाइनाज सेक्रेसी ह्याज मेड काेराेना भाइरस क्राइसिस मच वाेर्स' शीर्षकमा द काठमाडाैं पाेस्टमा साभार गरिएकाे इभाे डाल्डरकाे टिप्पणीकाे भावानुवाद। सुरूमा याे टिप्पणी सिकागाे ट्रिब्युनमा प्रकाशित भएकाे थियाे।  इभो डाल्डार सिकागो काउन्सिल अन ग्लोबल अफेयर्सका अध्यक्ष हुन्। उनी नाटोका लागि पूर्वअमेरिकी दूतसमेत हुन्।

मूल तस्बिर साभार : सटरस्टक

काठमाडौं पोस्टमा प्रकाशित सामग्री