स्टार खेलाडीले मात्र उपाधि जितिँदैन : प्रवेश कटुवाल [अन्तर्वार्ता]

नेपाल लाइभ | २०७६ फागुन ७ बुधबार | Wednesday, February 19, 2020 १६:०९:०० मा प्रकाशित

काठमाडौं- खेल्न गाह्रो कि प्रशिक्षण गर्न? खेलाडीबाट प्रशिक्षक बनेका हरेकले यो प्रश्नको जवाफ दिन परेकै हुन्छ। हुन पनि एक सफल खेलाडी सफल प्रशिक्षक नहुन सक्छ। उदाहरणहरु छन् पनि। 

तर प्रवेश कटुवाल भने मेहनतले लागिपरेका खेलाडी र उस्तै मेहनती र भाग्यमानी प्रशिक्षक पनि बने। नेपाली फुटबलमा धेरै नसुनिएका प्रवेश मछिन्द्र क्लबलाई पहिलो पटक ए डिभिजन लिगको उपाधि जिताएसँगै चर्चामा छन्। 

खेलाडी रहँदा नै थ्री स्टारलाई २०६१ सालमा लिग जिताएका प्रवेशलाई अहिले प्रशिक्षक बनेपछि उपाधि खेलाडी हुँदाको भन्दा विशेष लागिरहेको छ। आफ्नो योजनाअनुरुप प्रशिक्षक एक्लै अगाडि देखिने तर खेलाडी धेरैको मिश्रणले काम गर्ने हुँदा उनी अहिले अझ बढी जस मिल्ने बताउँछन्। 

प्रशिक्षकका रुपमा प्रवेशको यो डेब्यु लिग हो। यसअघि झापा एघार टिमलाई प्रशिक्षण दिँदै आएको उनी ए डिभिजन लिग सम्हाल्नकै लागि काठमाडौं आएका थिए। 

झापा एघारलाई नयाँ उचाइमा पुर्‍याएका कटुवाल पहिलो प्रयासमा नै कसरी सफल भए? लिगमा मछिन्द्र क्लब सम्हाल्नु भन्दाअघि के सोचिरहेका थिए? च्याम्पियन सपना बुनेरै काठमाडौं आएका थिए त? कसरी लिगकै उत्कृष्ट प्रशिक्षक दरिए? 

मछिन्द्र क्लबलाई उपाधि जिताएर इतिहास रचेका उनै प्रवेश कटुवालसँग नेपाल लाइभका ऋग्वेद शर्मासरोज तामाङले कुराकानी गरेका छन्, 

उपाधि जित्दाको अनुभव कस्तो हुने रहेछ? 
खुसी छु। लिगको उपाधि जित्न पाउँदा को खुसी नहोला। 

प्रशिक्षकको रुपमा पहिलो ए डिभिजन लिगमा नै उपाधि जित्दा जितको खुसियाली कसरी मनाउनुभयो त?
खुसियाली मनाइरहेकै छौँ। सबैभन्दा ठूलो खुसीको क्षण नै मैदानमा अन्तिम ह्विसल बज्दा नै हो। त्यसपछाडिको भनेको त रमाइलो गर्ने माहोल मात्र हो। अन्तिम समयमा ल अब जितियो भनेर मैदानमा कुदेर जाँदाको खुसी जस्तो त अरु हुँदैन। 

स्टार खेलाडीका कारण जित सम्भव भएको हो? धेरै स्टार खेलाडीलाई मिलाउन समस्या हुने रहेछ?
स्टार खेलाडी सबैलाई मिलाएर राम्रो ब्यवस्थापन गर्न सकियो र उपाधि जितियो। यो चुनौतीमा सफल भइयो भने उपाधि जितिन्छ भन्ने पहिले नै लागिरहेको थियो। खेलाडीहरुमा बेन्चमा बस्नेको पनि भूमिका उति नै महत्वपूर्ण हुन्छ। प्लेइङ सेटमा नै पर्नुपर्छ भन्ने अडान कसैको थिएन। 

मछिन्द्र क्लबमा प्रशिक्षक बन्न कसरी जोडिनुभयो?
२०६८ सालमा मछिन्द्रबाट खेलेको थिएँ। त्यो बेला राम्रो पोजिसनमा नै आएका थियौँ। कर्ण लिम्बु, बुद्ध चेम्जोङ, विजय धिमाल झापा ११ देखि नै मछिन्द्रमा आएका हुन्।

मछिन्द्रलाई ‘बी’ डिभिजनबाट ‘ए’ डिभिजनमा उकाल्ने बेलामा पनि कति खेलाडीहरु झापाबाट थिए। मैले झापा ११ टिममा पनि प्रशिक्षण गरेकाले हामी नजिक नै रह्यौँ। 

तपाइँले अवसर खोजेर मछिन्द्र क्लब रोज्नुभएको थियो कि मछिन्द्रले नै तपाइँको विशेष खोजि गरेको थियो? 
कस्तो हुन्छ भने सन् २०१७ मा मैले प्रशिक्षकको ‘ए लाइसेन्स’ लिएको हो। गएको वर्ष पनि ‘ए’ डिभिजन क्लबको प्रशिक्षक ए लाइसेन्स भएका कोचले मात्रै हेर्ने भन्ने कुरा आएको थियो। ए लाइसेन्स भएका प्रशिक्षक नेपालमा ३१ जना हुनुहुन्छ। त्यसमध्ये क्लबले खोज्दा अहिले युवा प्रशिक्षक नै खोज्ने गरेको छ। खेलाडीहरु कोसँग बढी सहज हुन्छन् भन्ने पनि होला।

गएको वर्ष अलिकति ढिलो भएकाले म कुनै क्लबमा संलग्न भइनँ। गएको वर्ष त रेलिगेसन नहुनाले पनि धेरै क्लबले प्रशिक्षकमाथि लगानी गर्न चाहेनन्। यो वर्ष चार वटा क्लबबाट अफर आएको थियो। 

कुन कुन क्लबले बोलाएका थिए त? 
पहिले त मछिन्द्रले नै बोलाएको हो। अरु क्लबमा हिमालयन शेर्पा, सरस्वती युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबले बोलाएको थियो। मछिन्द्रमा आफूले सिकाइसकेका खेलाडीहरु पनि रहेकाले र पहिले सबै कागजात पनि मछिन्द्रमा नै पठाएकाले त्यसमा नै आबद्ध भएँ। 

तपाइँ मछिन्द्रमा आबद्ध भएपछि यो यो खेलाडी चहिन्छ भन्नुभएको हो कि पहिले नै खेलाडी ल्याउने योजना बनिसकेको थियो?
होइन होइन, प्राय खेलाडीहरु त पहिले नै आइसकेका थिए। म आएपछि पनि एक/दुई जना खेलाडीहरु ल्याएको थिएँ। यस्तो यस्तो खेलाडी ल्याउने भन्ने बारे अलिअलि कुराकानी भने पहिले पनि भएको थियो। खेलाडीहरु ल्याउनेमा मुख्य त क्लबका म्यानेजर अनिलकै काम हो। बीचमा क्लबमा आएर खेलाडीहरुको नामलिस्ट हेर्ने र कुराकानी गर्ने गरिरहेको थिएँ। 

मछिन्द्रमा आउने बेला यो यो हुनुपर्छ भन्ने केही सर्तहरु राख्नुभएको थियो? 
केही सर्तहरु त थियो। मछिन्द्रले नाइजेरियाका प्रशिक्षक तोपे फुजालाई पनि ल्याउने कुरा गरेको थियो। मेरो प्रशिक्षक लाइसेन्स फुजाको भन्दा माथिल्लो हो। त्यही पनि दुवै प्रशिक्षकले मिलेर काम गर्ने भन्ने कुरा भएको रहेछ। तर मैले चाहिँ मानिनँ। फुजा आउने हो भने म बस्दिनँ भनेर कुरा राखेको थिएँ। पछि फुजालाई बोलाइएन पनि। 

खेलाडी रहेर जित्दाको उपाधिभन्दा प्रशिक्षक भएर जित्दाको उपाधि विशेष छ भनेर उपाधि जितेलगत्तै भन्नुभएको थियो। के आधारमा अहिलेको उपाधि विशेष भयो त? 
टिममा खेलाडी हुँदा धेरै नै भइन्छ, प्रशिक्षक हुँदा ‘सिंगल म्यान’ जस्तो देखिन्छ। त्यो पनि एउटा कारण हो। प्रशिक्षकलाई चुनौती पनि उति नै धेरै हुन्छ। १८/२० जना खेलाडीको सबै कुरा बुझेर उनीहरुको शैली र खेलको अवस्थाअनुसार प्रयोग गर्नु सहज पक्कै हुँदैन। टिमअनुसार रणनीति बनाएर धेरै मेहनत गर्नुपर्ने हुँदा यो उपाधि नै मलाई विशेष लाग्यो। 

यो पटक लिग विजेता भए पनि आफ्नो केही कमिहरु, सुधार गर्नुपर्ने पक्षहरु छन् भन्ने लाग्छ?
त्यो टिमअनुसार फरक पर्ने कुरा भयो। टिम बनाएर अघि बढ्दा एउटा लक्ष्य बनाइएको हुन्छ। च्याम्पियन हुने हो कि, शीर्ष ६ स्थानमा पर्ने हो कि, रेलिगेसनबाट बच्ने मात्र हो कि भन्ने योजनाहरु हुन्छन्, त्यही अनुसार नै कामहरु गर्ने हो।

यदि कुनै क्लबसँग म जोडिँदै छु भने मेरो योजनाहरु फरक हुनसक्छन्। अभ्यासदेखिलिएर अन्य कुरामा विचार हुनैपर्छ। अहिले मछिन्द्रले लिग जिताए पनि मैदानको अभावले निकै अप्ठ्यारो गरी अभ्यास गर्नुपरेको थियो। यस्तो कुराहरुमा सकेसम्म राम्रो होस् भन्ने चाहना हुन्छ नै। 

उपाधि जित्नुमा मुख्य आधार के हो भन्ने लाग्छ? 
एउटा मात्रै कुरा होइन, त्यसमा धेरै कुरा मिल्नुपर्ने हुन्छ। खेलाडीको मेहनत र प्रदर्शन त मुख्य कुरा हुँदै हो, त्योसँगै खेलाडीको अवस्था र खुबी बुझेर प्रयोग गर्न जान्नुपर्ने हुन्छ। स्टार खेलाडी भएर मात्र त उपाधि जितिँदैन। स्टारहरुमा पनि मतभिन्नता हुनुभएन, टिमवर्क हुनुपर्‍यो। फुटबलमा एक समय एक टिमबाट ११ जना नै खेल्ने त हो, खेल्न पाइएन भनेर रिसाउने भयो भने राम्रो हुँदैन।

त्यो समस्या मछिन्द्रमा थिएन। बेन्चमा बस्ने खेलाडी पनि कहिल्यै रिसाएनन्। खेलाडी र प्रशिक्षक मात्र पनि होइन विजेता हुनका लागि टिम व्यबस्थापन अझ राम्रो हुनुपर्ने हुन्छ। हाम्रो उपाधिमा यी सबै कुरा कारण छन्। 

धेरै जना नाम चलेका खेलाडीहरुको व्यबस्थापन गर्नुपर्दा लिगलाई लिएर डर त थिएन?
डर त धेरै नै भएको थियो। लिग हुँदै गर्दा पनि त्यो डर नभएको होइन। यसपटक धेरै टिमले उपाधि दाबेदारी दिएका भने थिएनन्। सुरुदेखि नै मछिन्द्रसँगै त्रिभुवन आर्मी क्लब नै दाबेदार थियो। बीचमा मनाङ मर्स्याङ्दीले पनि आफ्नो दाबेदारी देखाएको थियो।

जसले आश गर्छ मेहनत पर्ने उसैले नै गर्ने हो। टिममा सबैसँग साथीभाइको सम्बन्ध भएकाले सजिलो पनि हुँदै गयो। च्याम्पियन हुने आधार तयार भयो। केही खेलाडी घाइते हुँदा समस्या थपिएको भने थियो। जितका लागि टिममा ११ जना मात्रै होइन बेन्च पनि राम्रो हुनुपर्छ, हाम्रो बेन्च राम्रो हुनुको फाइदाले नै उपाधि जित्न सक्यौँ। 

लिगमा तपाइँको खेलाउने तरिका राम्ररी बुझेको विपक्षी प्रशिक्षक को लाग्यो? 
सबै हेर्दाखेरी.... यसो हेर्दा आर्मीका प्रशिक्षक नवीन न्यौपाने नै लाग्यो। उहाँले गएको तीन वर्षदेखि आर्मी टिम हेरिरहनुभएको छ। धेरै कुरामा उहाँको योजना सही देखिएको हो। मोफसलका प्रतियोगितामा पनि आर्मीले राम्रो गरिरहेको थियो। म झापा ११ टिमको प्रशिक्षक रहँदा पनि धेरैपटक आर्मी टिमसँगै नै हारेका थियौँ।

फुटबलमा मैदानमा देखिने गरी खेलाडीबीचको प्रतिस्पर्धा त भइहाल्छ, त्योबाहिर प्रशिक्षकबीचको दिमागी प्रतिस्पर्धा कत्तिको हुने रहेछ? 
धेरै नै गर्नुपर्ने हुन्छ। खेलाडीहरु धेरैजसो खेल हेर्न मैदानमा आएका पनि हुँदैनन्। प्रशिक्षकले सबैको खेल हेरेर उनीहरुको तरिका बुझेर योजना बनाउनुपर्ने हुन्छ। विशेष त अभ्यासकै बेला विपक्षी टिम बुझेर उनीहरुको रणनीति फेल गराएर जित निकाल्ने योजना बनाउनै पर्छ। सबैभन्दा चुनौतीको विषय पनि त्यही हो। 

मनाङ मर्स्याङ्दी र मछिन्द्रबीचको खेलको कुरा गरौँ न, २-२ गोलको बराबरीमा सकिएको खेलमा खेलाडीबीच हात हालाहाल पनि देखिएको थियो। त्यसमा खेल सुरु हुनुअघि कस्तो योजना थियो?
मनाङको त्यसअघिको खेलहरु विचार गरिरहेको थिएँ, त्यस्तो उत्कृष्ट खेलिरहेको थिएन। तर पनि नतिजाले भने मनाङलाई साथ दिइरहेको थियो। हामीले मनाङको टिमवर्क राम्रो छैन भन्ने हिसाबले टेक्निकले बिट गरेर खेल्ने र धेरै बल पोसेसन बनाउने भन्ने योजना बनाएका थियौँ। तर पहिलो मिनेटमा नै हामी गोल खान पुग्यौँ।

दुई गोल लगाएर कमब्याक गर्दा पनि धैर्यता भएन र खेलाडीबीच झगडा पर्न पुग्यो। त्यसैको कारणले सामञ्जस्य नदेखिँदा खेल पनि बराबरमा पुगेको थियो। त्यसरी साथीसाथी झगडा गरेर खेल बिगार्न हुँदैन भन्ने लाग्छ, त्यो एकदमै नराम्रो पक्ष हो। 

लिगमा सबैभन्दा राम्रो खेल कुन लाग्यो?
राम्रो त एनआरटीसँगको खेल लाग्यो। किनभने हाम्रो खेल एकदमै सोचेअनुसार भएको थियो। एनआरटी पनि राम्रो टिम हो। हामीले ७० प्रतिशतभन्दा बढी बल पोसेसन राखेर मिलाएर खेलेका थियौँ। भलै खेल १-० ले मात्र जितेको भए पनि १३ खेलमध्ये उत्कृष्ट खेल त्यही थियो। जुन मैले सोचेको थिएँ, खेलाडीहरु त्यहीअनुसार थिए। 

हिमालयन शेर्पासँगको २-० को हारबारे पनि कुरा गरौँ न, 
हार त दुःखद हुन्छ नै। हारेपछि पनि एक प्रशिक्षकले धेरै कुराको अध्ययन गर्नुपर्ने हुन्छ। यदि हामी मनाङ मर्स्याङ्दीसँग, जावलाखेलसँग वा भनौँ शीर्ष ६ भित्रको क्लबसँग हारेको भए हामी विजेता बन्न सकस हुने थियो। १०औँ स्थानको क्लबसँग हारेकाले उपाधिमा असर कम गर्‍यो। खासमा समस्या चाहिँ के भयो भने, रंगशालामा बिहीबार खेल भयो।

शनिबार दर्शक आउँछन् भनेर थ्री स्टार र मनाङको खेल सारिएकाले हाम्रो खेल पनि सर्‍यो। दुई दिन ठूलो पानी पर्‍यो। एकाएक खेल एन्फा कम्प्लेक्स सारियो। यस्ता अनेक कुराले पनि खेलमा असर त गरि नै हाल्छ। हामीले सानो टिम या ठूलो टिम भनेर कहिल्यै खेल्दैनौँ। विपक्षी भनेपछि सबै टिम उस्तै नै हुन्। खेलाडीहरुले अलिकति वेवास्ता गरिदिँदा शेर्पासँग हार्न पुगेका हौँ। खेलाडीहरु नखेल्ने मनस्थितिमा थिए। 

मछिन्द्रबाहेक अरु टिमका खेलाडी जो तपाइँको नजरमा परे। राम्रो गरेको हो भन्ने लागेको कोही छ?
त्यस्तो राम्रो लागेको खेलाडी त धेरै नै छन्। त्यस्तो ‘एक्स्ट्रा अडिनरी’ कोही नभए पनि राम्रो धेरै छन्। आर्मीका सन्तोष मिडफिल्डमा राम्रो हो। भरत पनि राम्रो नै हो। मनाङमा अन्जनले पनि राम्रो गरेको हो। अनन्त पनि मनपरेको खेलाडी हो। धेरै राम्रो त हाम्रो लिगमा खास कोहि छैनन्।

झापा ११ र मछिन्द्रमा कस्तो भिन्नता पाउनुभयो? बाहिरका प्रतिस्पर्धा र ए डिभिजन लिगमा फरक के हुने रहेछ?
अब प्रशिक्षण गर्ने तरिका त उस्तै नै हो। झापा ११ मा अभ्यास गराउँदा पनि हामीले सिकाउने शैली र टेक्निक उस्तै हो। लिग लामो समय हुने भएकाले खेलाडीलाई विशेष गरेर चोटबाट बचाउने बारे धेरै विचार गर्नुपर्ने हुन्छ। अभ्यास मात्र गराएर पनि हुँदैन आरामको समय पनि मिलाउन सक्नुपर्छ। तयारी नै धेरै कुरा हो। खाने कुरा पनि विचार गर्नुपर्‍यो। अरु खासै भिन्नता त हुँदैन। हिजो जिल्लामा खेलेकै खेलाडीहरु पनि लिगमा छन्। 

अन्तिम खेलमा आर्मीले खेल सकिने बेलातिर त दबाब अझ बढाएको थियो। त्यस्तो बेला प्रशिक्षकको मनमा कस्तो हुने रहेछ? 
त्यो त असाध्यै धुकधुक हुन्छ। हामीले पहिलो हाफमा नै अग्रता बनाएकाले दोस्रो हाफमा उनीहरुलाई रोकेर खेल्ने रणनीति नै बनाएका थियौँ। आर्मी जस्तो तिब्र गतिमा खेल्ने टिमसँग सजिलो त पक्कै हुँदैन। गोल गर्न धेरै गाह्रो कुरा हो। तै पनि हामीले विचार धेरै गरेका थियौँ। आर्मीले हामीसँग धेरै आक्रमण गर्न सकेको चाहिँ होइन, हाम्रो बलियो पक्ष नै डिफेन्स लाइन हो। 

मछिन्द्रबाट तपाइँले सोचेको भन्दा राम्रो खेल प्रदर्शन गर्ने खेलाडी कोही भए? 
एक प्रशिक्षकले भन्दा त पूरा टिम नै राम्रो हुन्। मैदानमा हुने मात्र होइन बेन्चमा हुने खेलाडी पनि उत्तिनै राम्रा थिए। परेको बेला उसले पनि उत्ति नै खेल देखाउनुपर्ने हुन्छ। तै पनि अब त्यस्तो नाम नै लिनुपर्दा देबेन्द्र तामाङ, रजिन धिमाल, बिशाल राईको नाम लिँदा हुन्छ। १३ खेल नै उनीहरुको उस्तै राम्रो थियो। विदेशी खेलाडी को त कुरै नगरौँ, उनीहरुको भूमिका त महत्वपूर्ण छँदै थियो। 

त्यसो भए त, आर्मीविरुद्धको खेलमा देवेन्द्र घाइते हुँदा डर बढेको थियो?
डर त धेरै बढेको थियो, किनभने देवेन्द्रले जस्तो बुझेर खेलिरहेको थियो ऊ नहुँदा डर भइनै हाल्छ। तै पनि घाइते रहेको खेलाडीभन्दा त अर्को खेलाडीलाई नै खेलाउनु परि नै हाल्छ। डर चाहिँ भएको थियो। एयर बलमा देवेन्द्र धेरै राम्रो खेलाडी हो। उसले डिफेन्समा बल बुझेर खेल्छ। बलमा छिटो पुगिरहेको हुन्छ। त्यसले पछिल्लो १५ मिनेटमा हामीलाई डर बढेकै थियो। सबैभन्दा ठूलो त टिमको मेहनत नै हो। सबैले मेहनत गरे। मछिन्द्रलाई ऐतिहासिक सफलता दिलाउँछु भनेर सबैले मेहनत गरेका थिए। त्यो मेहनतको जित नै हो। 

यो तपाइँका लागि पनि ठूलो उपाधि भयो। यो उचाइ मिलेपछि पछिको बाटोबारे सोच्न भ्याउनुभएको छ? 
मेरो सोच त धेरै नै छ। प्रशिक्षक भएपछि राम्रो राम्रो टिम हुँदै राष्ट्रिय टिमकै प्रशिक्षकसम्म पुग्न पाइयोस् भन्ने सोच त भइ नै हाल्छ। विदेशका टिमहरु हेर्न पाइन्छ कि भन्ने चाहना पनि छ। जे अवसर आउँछ राम्रो गर्ने सोच नै रहन्छ। राम्रो टिमलाई च्याम्पियन बनाउँदाको जस्तै खुसी प्रशिक्षकका लागि नराम्रो टिमलाई रेलिगेसनबाट जोगाउँदा मात्रै पनि हुन्छ। यदि प्रशिक्षण गर्ने हो भने सबै कुरा हेरेर नतिजाको योजना बनाउनुपर्ने हुन्छ। 

तपाइँको कुनै मनपर्ने ‘प्लेइङ फम्र्याट’ छ? 
मलाई मनपर्ने ४-३-३ नै हो। किनभने त्यसमा अट्याक र मिडफिल्डमा बलमा नियन्त्रणदेखि डिफेन्ससम्म राम्ररी गर्न सकिन्छ। तर त्यसको लागि प्लानिङ पनि धेरै हुनुपर्छ, टिम पनि सँगै खेलिरहेको हुनुपर्छ। नेपालमा धेरै चलेको त ४-४-२ नै हो। तर पनि मैले चाहिँ धेरै ४-३-३ नै खेलाएँ। 

तपाइँलाई विशेष मनपर्ने कोही प्रशिक्षक हुनुहुन्छ?
मलाई त मनपर्ने म यु१६ टिममा खेल्दादेखिको मेरो प्रशिक्षक इंग्ल्याण्डका स्टेफेन कन्स्ट्यानटाइन नै हो। उहाँबाट धेरै प्रभावित भएको छु। उहाँको शैलीसँग नजिक पनि छु। उहाँले नेपाल छाडेर गएर भारतको टिममा पनि निकै राम्रो गर्नुभएको छ।

उहाँलाई थाहा होला त तपाइँले अहिले लिग जिताउनुभएको छ? 
त्यो त थाहा छैन, तर म उहाँसँग सामाजिक सञ्जालमा कुराकानी गर्ने प्रयासमा हुन्छु। उहाँ असाध्यै खुला विचारको हुनुहुन्छ। हामी यु१६ मा भियतनाम जाँदा उहाँलाई धेरै बुझ्न पाएको थिएँ। अभ्यासका बेला दुश्मनजस्तो भए पनि अभ्यास सकिए पनि असाध्यै साथीजस्तो हुनुहुन्थ्यो। अरु विदेशी टिमका प्रशिक्षकका कुरा गर्दा पेप गार्डिओला र योर्गेन क्लोप मन पर्छ। 

तपाइँ खेलाडी हुँदा नै पछिको मेरो समय प्रशिक्षणका लागि हो भनेर सोच्नुभएको थियो कि?
त्यस्तो केही त सोचेको थिइनँ। खेल्दै नै थिएँ। सिनियर खेलाडी भएकाले गाउँमा आफ्नो क्लबका खेलाडीलाई जानेको कुरा सिकाउँदै गर्दा प्रशिक्षक बन्ने अवसर जस्तो आयो। त्यसपछि नै सी लाइसेन्सको परीक्षा दिएँ, पास भएँ। त्यसपछि बी र ए लाइसेन्समा पनि पास भएँ। लगातार अगाडि बढ्ने अवसर आउँदै गयो। प्रशिक्षक के हो भन्ने बुझ्दै गएँ। काम गर्दै गएँ। अध्ययन गर्दै गएँ। 

मछिन्द्रले जिल्लातिर प्रतियोगिताहरु खेल्दा तपाइँकै प्रशिक्षणमा जाने छ?
मेरो सम्झौता चैतसम्मको हो। त्यसैले त्यसअघिको प्रतियोगितामा म नै हुनेछु। त्यसपछि पनि समय थप हुन्छ जस्तो लाग्छ। प्रशिक्षक भनेको नै त्यही ‘हायर एण्ड फायर’ नै हो। राम्रो गर्दा निरन्तर हुने र नराम्रो गर्दा हटाइहाल्ने। यो पटक उपाधि नै नजितेको भए पनि दोस्रो त हुन्थ्यौँ नै, दोस्रो हुनु पनि राम्रो उपलब्धी नै हुने थियो। 

भिडियोमा हेर्नुहोस् प्रशिक्षक प्रवेशको भनाइ,