जसले बिभत्स शवसँग १० वर्ष बिताए

नारायण अधिकारी | २०७६ फागुन १० शनिबार | Saturday, February 22, 2020 ०६:३०:०० मा प्रकाशित

काठमाडौं- रगतको आहालमा डुबेका शवलाई ओल्टाइपल्टाइ गर्नु। डुङ्डुङ्ती गन्हाउने शवको समेत बेपर्वाह गरी अंग-अंगका चोटपटकको इन्ची–इन्ची नाप गर्नु। बिस्फोटमा परेर टुक्रा-टुक्रा भएका मान्छेका शरीरका अंग बटुल्नु। कुहिएका शव ढलबाट निकाल्नु। गाडेको ३५ दिनपछि किराले ढपक्कै ढाकिएको शवकाे समेत रत्तिभर घिन नसम्झी उत्खनन् गर्नु। 

यी काम सुन्दामात्रै पनि ज्यान सिरिङ्ग हुनसक्छ। कुहिएका शवलाई ओल्टाइपल्टाइ गर्ने हैन, देख्दै परैबाट नाक थुनेर सबैजसो पन्छिने गर्छन्। सामान्य मान्छेलाई लाग्छ- यस्ता कुहिएका शव छुन नपरोस् हैन, देख्नै नपरोस्। 

तर शम्भुप्रसाद पोखरेल यस्ता व्यक्ति हुन्, जो १० वर्षदेखि यस्तै शवसँग साक्षात्कार गरिरहेका छन्। गत मंगलबार बिहान उनै पोखरेललाई कुराकानीका लागि टेलिफोन गर्दा एउटा शव निकाल्नै व्यस्त थिए- उपत्यकाका चर्पी मिसिएको विष्णुमति नदीबाट। 

बल्खु तरकारी बजारमा काम गर्ने उमेश महतो तरकारी बजारसँगैको विष्णुमति नदीमा मृत भेटिएका थिए। नदीमा शव फेला परेको सूचना महानगरीय प्रहरी अपराध महाशाखामा आएपछि हवल्दार पोखरेल उतै दौडिए। नदीबाट शव निकाले।

शरीरमा चोटपटक, निलडाल छ/छैन, कस्तो अवस्थामा भेटिएको छ, वरपर केही शंकास्पद वस्तु छ/छैन पोखरेलले यिनै कुरा नियाले। सँगै गएको मुद्दाको टोलीले घटनास्थल मुचुल्का उठायो। करिब दुई घण्टामा काम फत्ते गरेर उनी कार्यालय महाशाखा फर्किए।

यस्तै प्रकृतिका काममा पोखरेलले आफ्नो १० वर्ष खर्चिसकेका छन्। रौतहटको चन्द्रनिगापुर-२ का पोखरेल २०६१ सालमा प्रहरी जवान भर्ती भए। तालिम सकिएपछिका दुई वर्ष उनले बुटवलमै बिताए।

वडा प्रहरी कार्यालय रामनगरमा कार्यरत पोखरेलको त्यसबेलासम्म आङमा प्रहरीको बर्दी थियो।  

प्रहरी प्रधान कार्यालयले फिंगर प्रिन्ट तालिमको लागि केही प्रहरी जवानको नाम पठाउन निर्देशन दियो। त्यसमा छानिए पोखरेल। अपराधी पहिचानको मुख्य हतियार फिंगर प्रिन्टको तीन महिने तालिम पश्चात भने उनको आङको बर्दी हट्यो।

सादा पोशाकमै रहेर फिंगर प्रिन्टको काम गर्न थाले।

फिंगर प्रिन्टको काम गरिरहेकै बेला २०६४ असारमा उनको बुटवलबाट महानगरीय प्रहरी प्रभाग सीतापाइला सरुवा भयो। त्यहाँ पनि उनले फिंगर प्रिन्टकै काम गरे।

चोरीको घटनामा संलग्न व्यक्तिको फिङ्गर प्रिन्ट लिँदै शम्भु(दुवै तस्बिर)

प्रभागमा तीन वर्ष काम गरिसकेपछि २०६७ साउनमा महानगरीय प्रहरी अपराध महाशाखामा काज भयो। त्यहीबाट सुरु भएको हो, हवल्दार पाखेरेलको शवसँगको साक्षात्कार। करिब १० वर्षदेखि महाशाखाकै सोको (क्राइम सिन अफिसर) टिममा रहेर उनले काम गर्दै आइरहेका छन् ।

०००

महाशाखामा आएपछि सोको टिममा रहेर उनले फिंगर प्रिन्टकै काम गरे। फिंगर प्रिन्ट विशेष गरी चोरीको अनुसन्धानमा प्रयोग गरिँदै आएको छ। चोरी भएको ठाउँमा गएर चोरले समाउन सक्ने लकर, दराज, ढोकाको ह्णडलजस्ता ठाउँबाट मेसिनमार्फत शम्भुले चोरका तमसुक निकाल्थे। उनैले रेकर्ड गरेर ल्याएका फिंगर प्रिन्टबाट सयौं चोर समातिएका छन्।

‘१० वर्षको अवधिमा सयौं चोर पक्रिन सहयोग गरियो होला’ यति जना चोर पक्राउका लागि आफ्नो रेकर्डले काम गरेको भन्नेबारे अनविज्ञता पोख्दै पोखरेल भन्छन्। 

सँगै उनको रेकर्ड बाहिरबाट पक्राउ गरेर ल्याइएका चोरको पनि उनले फिंगर प्रिन्ट रेकर्ड गरेर राखेका छन्। ताकि भोलिका दिनमा फेरि अनुसन्धान गर्नुपर्दा सजिलो होस्। फिंगर प्रिन्टको काम गर्दागर्दै उनले सोको सहायकको रुपमा काम गर्न थालिसकेका थिए।

‘फिंगर प्रिन्टको काम गर्दागर्दै सरहरु (असई,सई)सँग असामान्य किसिमबाट मृत्यु भएका घटनामा म पनि जान्थें। त्यहीँबाट सोको सहायकको काम सिकेको हुँ’, बिना तालिम हेरकै भरमा सोको सहायकको काम सिकेको बारे पोखरेलले बताए।

उनले सोको सहायकको काम सिकेका बेला त असईभन्दा तल्लो दर्जालाई तालिम दिने चलन नै थिएन। त्यसबेला उनी भने सिपाही नै थिए।

सोको किट बक्समा सामान राख्दै।

त्यसपछि भने विभत्स घटना, हत्या, दुर्घटना, बम बिस्फोटमा मृत्यु, झुण्डिएर आत्महत्या, विष खाएर आत्महत्या, गोली प्रहार गरी हत्या जस्ता सयौं घटनाका साक्षी बनेका छन् पोखरेल। अहिले अभ्यस्त भइसकेका पोखेरेललाई सुरु सुरुमा भने डर र घिन नलागेको होइन। 

‘सोको टिममा आएपछि मेरो पहिलो क्राइम सिन घटना भनेको कोटेश्वरमा फर्निचरमा काम गर्ने युवालाई मारेको केश थियो। घाँटीमा छुरी थियो। मृतक युवा मुख बाइरहेका थिए। त्यसबेला भने मलाई एकदमै डर लागेको थियो’, पोखरेलले भने, ‘त्यसपछि भने मलाई डर लागेको छैन।’

सोको टिमले घटनास्थल पुगेपछि सुरुमा क्राइम सिन कर्डन गर्छ। त्यसपछि क्राइम सिन फोटो लिने, फेन्सिक इभिडेन्स कलेक्शन गर्ने, फुट प्रिन्ट फिंगर कलेक्शनको काम सुरु हुन्छ। सोको टिमले कलेक्शन गरेका अपराधी पत्ता लाग्न सहयोग गर्ने प्रमाणसहितका क्लु सम्बन्धीत मुद्दाको टिमलाई बुझाउँछन्।

०००

यसरी शम्भुले १० वर्षको बीचमा करिब १५ सय शवलाई ओल्टाइपल्टाइ गरिसकेका छन्। ती मध्येका केही घटना भने उनले निकै रोचकसाथ सुनाए। 

‘व्यवसायी प्रकाशबाबु पन्तको हत्या गरि शव गाडेको ३५ दिनपछि निकालेको थिएँ। शवलाई प्लाष्टिकले बेरेर गाडिएको। शवमा जहाँ समायो त्यहीको मासु हातमै आउँथ्यो’, शम्भु आफ्नो अनुभव सुनाउँछन्, ‘त्यसबेला हामीसँग डाक्टर हरिहर वस्ती पनि हुनुहन्थो।’

(व्यवसायी पन्तको २०६८ चैत १२ मा काठमाडौंबाट अपहरण भएको थियो। अपहरण गरी हत्या गरेको ३५ दिनपछि पन्तको शव नुवाकोटको ककनीमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो। पछि शव जाँच गर्दा अपहरणकारीले विष सेवन गराएर पन्तको हत्या गरेको पुष्टि भएको थियो।)

‘हेर्दा सामान्य लागे पनि हाम्रो जिम्मेवारी भने निकै चुनौतीपूर्ण र संवेदनशील छ। अपराधी पत्ता लाग्ने भनेको क्राइम सिन इभिडेन्सको राम्रोसँग संकलन गरेपछि हो। त्यसकारण घिन नमानिकनै क्राइम सिनका प्रमाण संलकन गर्नुपर्छ’ शम्भु भन्छन्।

पोखरेलसहितको टिमले क्राइम सिनमा संकलन गरेको प्रमाण र प्रहरीको थप अनुसन्धानबाट व्यवसायी पन्त हत्या काण्डमा संलग्न व्यक्ति पक्राउ परेका थिए। 

यतिमात्रै होइन, यो १० वर्षको अवधिमा १५ सयभन्दा बढी क्राइम सिनमा गएर प्रमाण संकलन गरेका शम्भुका अनेक अनुभव छन्। कतिपय क्राइम सिनमा जाँदा त उनको मन नै चसक्क पनि हुन्छ। 

‘बबरमहल बम बिस्फोटको घटनामा पनि म गएको थिएँ। दृश्य यति दर्दनाक थियो कि क्राइम सिनमा भएका प्रमाण संकलन गर्ने बेला अन्तिममा मैले मान्छेका हातका औँलामात्रै छुटिएको अवस्थामा समेत भेटेको थिएँ’, दर्दनाक घटनाका बारेमा सुनाउँदै गर्दा उनले अतित सम्झिए, ‘कहिलेकाहीँ यस्ता घटनाले मनै चसक्क बनाउँछ।’ 

बबरमहल बम विस्फोटको घटनामा क्राइम सिन निरीक्षण गर्दै।

(तत्कालीन संयुक्त जातीय मुक्ति मोर्चाले २०६८ फागुन १५ मा काठमाडौं बबरमहलमा दिउँसो १ बजे शक्तिशाली बम बम विस्फोट गराएको थियो। सो क्रममा कृष्णबहादुर तामाङ, मानबहादुर तामाङ र बीरबहादुरको तामाङ गरी तीन जनाको ज्यान गएको थियो। सात जना गम्भीर घाइते भएका थिए।)

यी घटना रक्ताम्य र दर्दनाक थिए। शम्भुले कुहिएर किरा परेका शव र हड्डीमात्रै पनि उठाएका छन्। शव ओल्टाइपल्टाइ गरेका छन्। इन्ची टेपले चोटको लम्बाई र चौडाई नापेका छन्।

गोलीका खोका र बारुदका छर्रा संकलन गरेका छन्। त्यसमा कति घटना त अझैसम्म रहस्यको गर्भमै छन्।

लगभग चार वर्ष अगाडि रानीबारीको जंगलबाट हड्डीमात्रै संकलन गरेर बोरामा हालेर उनै शम्भुले ल्याएका थिए। एक विदेशी पर्यटक काठमाडौंबाट नुवाकोट ट्रेकिङ जाने क्रममा अस्थीपञ्जर देखिपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी प्रधान कार्यालयमार्फत अपराध महाशाखामा उक्त सूचना पुगेपछि शम्भुसहितको टोलीले रानीबारी जंगलबाट अस्थीपञ्जर बोरामा हालेर ल्याएको थियो।

वरपरका कपडाबाट त्यो अस्थीपञ्जर महिलाको हो भन्ने आशंका गरिए पनि त्यो कसको थियो अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन। 

०००

शम्भुकी श्रीमती पनि प्रहरी सेवामै छिन्। एक छोरासहित उनीहरु तीन जना सानेपामा बस्छन्। घरभित्र प्रवेश गर्ने बेला शम्भुले लगाएका बाहिरी बस्त्र ढोका बाहिरै फुकाले, भित्र पसेपछि श्रीमती र छोराले सहजै बुझ्छन् ‘आज दर्दनाक र कुहिएका शवकाे प्रमाण संकलन गरेर आए शम्भु।’

‘आलो शवका  काँचो रगत गन्हाइरहेको हुन्छ भने पुरानो शवका दुर्गन्ध आफ्नै शरीरबाट आइरहेकाे हुन्छ। यस्ता शव चलाएको दिन सधैँ नुहाउन पनि भ्याइँदैन। त्यसैले घर छिर्ने बेला कपडा खोलेर पस्छु’ शम्भुले बाध्यता सुनाए। 

शम्भुलाई ठ्याक्कै मिति थाहा छैन। पाँच/छ वर्ष अगाडि बौद्धमा प्लाष्टिकले बेरिएको अवस्थामा एक शेर्पाकाे शव भेटिएको थियो। प्लाष्टिक खोल्दा शम्भुका शरीरमा समेत किरा हिँडेका थिए।

किरैकीराको शवलाई ओल्टाइपल्टाइ गर्दासमेत उनले नुहाउने फुर्सद पाएनन्। यस्तो अवस्थामा भने उनी कपडा ढोका बाहिरै खोलेरभित्र पस्छन्।

यस्ता सयौं घटनाका साक्षी बनेका शम्भुले न्यायाधीश रणबहादुर बम, पूर्व राजदूत केशवराज झा हत्या, भक्तपुरमा बालक निशान खड्काको अपहरणपछि हत्या, व्यवसायी अञ्जनीकुमार चाचन हत्या, इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको हत्या लगायतको प्रमाण संकलनको काम गरेका छन्।

अपहरणपछि हत्या गरेर खाल्डोमा गाडिएका बालक निशान खड्काको शव निकाल्दै।

सोको सहायकको रुपमा उत्कृष्ट काम गरेकै कारण उनले २०७१ मा शान्ति मिसनमा सुडान जाने अवसरसमेत पाएका थिए।

अपराधको अनुसन्धान घटनास्थल अर्थात क्राइम सिनबाट सुरु हुन्छ। क्राइम सिन अपराध अनुसन्धानको पहिलो प्रमाण हो। घटनास्थलको सबुत कसरी जुटाइन्छ? र, घटनाको अवस्थाको विश्लेषण कसरी गरिन्छ? यसको असर अनुसन्धानको अन्तिम बिन्दुसम्म देखापर्छ।

क्राइम सिनमा थोरै तलमाथि भएको अवस्थामा अपराधीको पहिचान नहुन पनि सक्छ। त्यसैले त भन्ने गरिन्छ, ‘अपराधीको पहिचान हुनुमा सोको अफिसरको भूमिका मुख्य हुन्छ।’ 

शम्भुले यस्तै मुख्य जिम्मेवारी दश वर्ष पूरा गरे। अझै लागिपरिरहेका छन्। 

शम्भुप्रसाद पोखरेलसँगकाे भिडियाे कुराकानी