नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक भन्छन्- पान पसल र निगममा केही फरक छैन

रमेश लम्साल  | २०७६ फागुन १० शनिबार | Saturday, February 22, 2020 १६:०८:०० मा प्रकाशित

काठमाडौं- विगत २२ वर्षदेखि नियमित दैनिकी जस्तै छ, बाबा रामदेवको योग। त्यतिबेला रामदेव को हुन् भन्ने कुरा नेपालमा धेरैलाई थाहा थिएन। उनकै अनुशरण गरेकाले नै हुनुपर्छ स्वास्थ्य राम्रो छ। जीवनभर नेपाली जनताको सेवा गरेकाले पनि मलाई निजी क्षेत्रका कुनै पनि संस्थाले तान्न सक्दैनन्। 

पटकपटक निजी क्षेत्रको संस्थाको नेतृत्व लिइदिनुपर्‍यो भनेर प्रस्ताव पनि आए, आइरहेकै पनि छ। मलाई किन किन निजी क्षेत्रमा जानै मन लाग्दैन। स्वास्थ्यले साथ दिउन्जेलसम्म नेपाली जनताको नै सेवा गर्ने इच्छा छ। यी भनाइ हुन् सुगतरत्न कंसाकारको। उनलाई चिनाउन कुनै विशेषण लगाउनु पर्दैन। चार वर्ष तीन महिना नेपाल टेलिकमको प्रमुख तथा ६ वर्ष नेपाल वायु सेवा निगमको प्रमुख भएर आफ्नो योग्यता र क्षमता देखाएका कंसाकारले कमलादी गणेशस्थान नजिकै आफ्नो निवासमा आफ्नो व्यवस्थापकीय कलाका अलावा टेलिकमको प्रवेश तथा निमगको सुधारका बारेमा आफ्नो अनुभव सुनाए। 

पारिवारिक पृष्ठभूमि व्यापारिक भए पनि आफ्नै रहरले दूरसञ्चार सेवामा प्रवेश गरेका कंसाकारलाई आजको टेलिकमलाई व्यावसायिक रुप दिएको श्रेय जाने गरेको छ। टेलिकमलाई कम्पनीमा रुपान्तरण गर्दा उनी नै टेलिकमको प्रबन्ध निर्देशक थिए। दूरसञ्चार संस्थानको अन्तिम महाप्रबन्धक कंसाकार भएकै बेला टेलिकमको सात प्रतिशत शेयर बिक्री गरेर कम्पनी बनाइएको थियो। आफैँले सिकाएका र तातेताते गरेर हिँडाएका व्यक्तिले नै आजको टेलिकम चलाएका छन्। 

अब त अवकाशपछिको जीवन बिताउने बेला भएन र? हाम्रो प्रश्न भुइँमा खस्न नपाउँदै कंसाकारले प्रसङ्ग अन्यत्रै मोड्दै भने, ‘म ६० वर्ष पुगें, अब कविता लेख्दिनँ भनेर एउटा कवि चुप लागेर बस्छ र? यस्तै मेरो उमेर ६५ भयो, म अब उपन्यास लेख्दिनँ भनेर उपन्यासकार बस्छ र? मेरा लागि पनि व्यवस्थापन त्यस्तै हो।’

म इञ्जिनीयर हुँ, तर सँगसँगै व्यवस्थापक पनि। संसारभर प्रकाशित भएका व्यवस्थापनसम्बन्धी धेरै जसो किताब र जर्नल पढेको छु। जिन्दगीभर नै व्यवस्थापनसँग जोडिएँ। काम गरेँ। नजानेको कुरा सिकें, जानेको कुरा लागू गरेँ‚ विस्तार गरेँ। उनले अगाडि जोड्नुभयो, ‘सरकारी क्षेत्रको व्यवस्थापन आफैँमा जटिल काम हो। मलाई जटिल काम गर्न नै मनपर्छ। जुन मैले विगतमा गरेँ। आगामी दिनमा राम्रो प्रस्ताव आए पछि हट्दिनँ। किनकी मैले तीन करोड नेपालीको आस्थासँग जोडिएका दुई महत्वपूर्ण संस्थामा जीवन गुजारेको छु।’

निजी क्षेत्रले राम्रो सेवा सुविधासहित प्रस्ताव गरेको उनी सुनाउछन्। कुनकुन संस्थाका प्रस्ताव आए? भन्ने प्रश्नमा उनले भने, ‘भन्न मिल्दैन। तर पछिल्लो पटक पनि घरमै आएर प्रस्ताव गरे।’ आफूलाई निजी संस्थामा गएर काम गर्न मनले नै नमानेको उनी बताउँछन्। जिन्दगीभर नेपाली जनताको सेवा गरेको भएकाले पनि मलाई निजी संस्थाले तान्न सक्दैन। निजी क्षेत्रको व्यवस्थापनभन्दा सार्वजनिक संस्थाको व्यवस्थापन गाह्रो काम हो। त्यसमा राजनीतिकदेखि अनेकन कारण जोडिन्छन्। कंसाकारले भने, ‘गाह्रो काम नै किन नगर्ने भन्ने मलाई लाग्छ।’

मलाई जटिल काम गर्न नै मनपर्छ। जुन मैले विगतमा गरेँ। आगामी दिनमा राम्रो प्रस्ताव आए पछि हट्दिनँ।

कंसाकारको परिवार नै व्यापारी हो। ठूला बा, काका अझै व्यापारमा छन्। उनको १ सय ३० जनाको परिवारको एक्लो सदस्य हुन् उनी‚ जो सरकारी सेवामा लागे। असनमा अझै पनि सेतो कपडाको पसल छ। त्यो उनको परिवारको पसल हो। ‘म व्यापारिक पृष्ठभूमिको भए पनि निजी क्षेत्रमा जाने पटक्कै इच्छा छैन। मनमा आउँछ, अब त चुपचाप घरै बसौँ कि? अर्को मनले भन्छ होइन, स्वस्थ छु, काम गर्न सक्छु भने किन चुप बस्ने? म आफैँ ‘चान्स’ पाएको खण्डमा अवकाश हुने पक्षमा छैन,’ उनले सुनाए। 

उनले व्यवस्थापन ‘अब्स्ट्रयाक’ विषय भएको पनि बताए। ‘के गर्‍यो भने राम्रो व्यवस्थापन हुन्छ? भनेर जानेकालाई समेत मैले सोध्ने पनि गरेको छु,’ उनले भने। विसं २०३१ मा सातौँ तहको टेलिकम इञ्जिनीयरका रुपमा सेवा प्रवेश गरेका कंसाकारले ३४ वर्ष सेवा गरे। अघिल्लो र पछिल्लो कार्यकाल गरेर नेपाल वायु सेवा निगममा ६ वर्ष काम गरे। 

परिवारका तीन दाजुभाईमध्ये कान्छा हुन् कंसाकार। ‘ठुल्दाइको ‘ब्रेन ट्युमर’का कारण निधन भइसकेको छ, माल्दाइको अझै चियाको व्यापार छ। उहाँले तयार पारेको चियाँ चीनको तिब्बतसम्म जान्थ्यो,’ उनले पारिवारिक पृष्ठभूमिका बारेमा भने। 

ठमेलको अस्कल क्याम्पसबाट आइएस्सी गरेपछि कंसाकारले ‘कोलम्बो प्लान’को छात्रवृत्ति पाए। टेलिकम इञ्जिनीयर भन्ने धेरैलाई थाहै थिएन। तर मैले धेरैले थाहा नपाएको सोही विषय पढ्ने मन गरेको उनले सुनाए। आफ्ना बुबा यस्तो पनि इञ्जिनीयर हुन्छ भन्दै झगडा नै गर्न गएको स्मरण उनमा ताजै छ। उनले भने, ‘घर, सडक बनाउने पो इञ्जिनियर हुन्छ त? यस्तो पनि इञ्जिनीयर हुन्छ भन्दै मेरा बुबाले झण्डै जान नदिनुभएको थियो।’ ठूल्दाइका कारण आफूले सो विषय पढ्न पाएको कंसाकारको भनाइ छ। 

छात्रवृत्ति पाएर कोलकाता गए पनि त्यहाँ ‘नक्सलाइट’का कारण धेरैजसो समय क्याम्पस बन्द भएका कारण उनी पुनाबाट टेलिकम इञ्जिनीयर उत्तीर्ण गरे। दुई जना केटा टेलिकम इञ्जिनीयर पढेर आएका छन् भन्ने थाहा पाएर तत्कालीन नेपाल दूरसञ्चार समितिले कंसाकार र उनका अर्का साथीलाई ज्यालादारीमा नियुक्त गर्‍यो। यो कुरा विसं २०३१ को थियो। रामप्रसाद शर्मा समितिका प्रमुख थिए। प्रमाणपत्र नै छैन, सर, हामी त परीक्षामा नै उत्तीर्ण भएका छैनौं भन्दा तिमीहरु चुप लाग भन्दै जागिर दिएको आजै जस्तो लाग्छ, कंसाकारलाई। 

विसं २०३३ मा समितिबाट नेपाल दूरसञ्चार संस्थानमा परिणत भयो। सुरुमा उनको तलब थियो ६००। प्रतितोला सुनको मूल्य नै २०० थियो। काठमाडौँ उपत्यकामा टेलिफोनको लाइन विस्तार गर्नेदेखि दरबारको लाइन हेर्नेसम्मको काम गरेको कंसाकारको स्मरणमा अझै पनि उत्तिकै ताजा छ। समयले सिकायो, मेहनतले सिकायो, कंसाकारलाई। इमानलाई नै मूलमन्त्र मानेकाले कसैसामु झुक्नुपरेन। अनि इञ्जिनीयरलाई व्यवस्थापक पनि बनायो। 

नेपाल वायु सेवा निगमको व्यवस्थापन हेर्ने जिम्मेवारी सरकारले यतिखेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई दिएको छ। संस्थालाई निजीकरण गर्ने वा अन्य कुनै तरिकाले व्यवस्थापन गर्ने भन्नेबारेमा सरकारले चिन्तन गरिरहेको छ। 

पान पसल र निगममा केही फरक छैन भन्ने बुझाइ छ कंसाकारको। पान पसलले पान बेच्छ, निगमले सिट बेच्छ। दिनभरको कमाइ हिसाब गर्ने पान पसले र सिट बेचेको हिसाब गर्ने निगमको व्यापार शैली उस्तै हो।

निगमको दुई पटक प्रमुख भइसकेका कंसाकारको मनमा चाहिँ के होला? हाम्रो जिज्ञासा स्वाभाविक थियो। निगमलाई कसरी सुधार गर्न सकिन्छ, राष्ट्रिय ध्वजावाहक यो निगमलाई प्रतिस्पर्धामा कसरी उतार्न सकिन्छ? हाम्रो जिज्ञासाको प्रमुख कुरा नै त्यही थियो। 

कुनै समय निगमको जहाज ‘लण्डन’ पुग्थ्यो। यस्तै पेरिस र जापानसमेत पुगेको थियो। हिजोआज संस्थाको साख विगतको जस्तो छैन। जहाजको अभाव छ। दक्ष जनशक्तिको पलायन रोक्न सकिएको छैन। त्यसमाथि राजनीतिक हस्तक्षे । जेनतेन चलेको निगमले थुप्रै व्यवधान पार गरेर दुईवटा ‘न्यारो बडी’ र दुईवटा ‘वाइड बडी’ जहाज पाउन सक्यो। ठूलो धनराशिको कारोबार गरेर जहाज खरिदमा पहलकदमी लिने, साहस गर्ने जोखिम उठाउने व्यवस्थापकमा कंसाकार नै दरिए। 

न्यारो बडी जहाज खरिदका विषय त्यति धेरै विवादमा नपरे पनि वाइड बडी खरिदको विषय भने अन्ततः विवादकै ‘चक्रब्यूह’मा फस्यो। संसदीय समितिले छानबिन गर्‍यो। विषय त्यहाँमात्रै सीमित रहेन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत पुग्यो। सर्वत्र चर्चा र बहसको विषय बन्यो। कम तौलको जहाज ल्याएको, भाडामा जहाज ल्याएको तथा कमसल जहाज ल्याएको, मोटो कमिसन खाएको जस्ता आरोपको सामना गर्नुपर्‍यो। 

कर्मचारीमा समस्या भएको भए, व्यवस्थापन गतिलो नभएको भए कसरी पुग्थ्यो त त्यो बेलाको ‘शाही नेपाल वायु सेवा निगम’को जहाज लण्डन, पेरिस र जापान? स्वाभाविक उत्तर छ कंसाकारको सरकारी लगानीका कूल ३६ वटा संस्थानमा रहेका आम समस्याजस्तै केही समस्या निगममा छ। सरकारी संस्थानमा नेपालमा मात्रै होइन, संसारभर नै केही न केही समस्या हुन्छन्। मात्रा कति हो भन्नेमात्रै हो। 

पान पसल र निगममा केही फरक छैन भन्ने बुझाइ छ कंसाकारको। पान पसलले पान बेच्छ, निगमले सिट बेच्छ। दिनभरको कमाइ हिसाब गर्ने पान पसले र सिट बेचेको हिसाब गर्ने निगमको व्यापार शैली उस्तै हो। निगमले सेवा विस्तारका लागि लगातार जहाज खरिद गर्नुपर्नेमा २० वर्षसम्म कुनै जहाज किन्न सकेन। दूरगामी सोच नै भएन। भएका जहाजले सेवा त दिए, तर त्यो पुग्दो भएन। आन्तरिक उडानमा रहेका दुईवटा ट्वीनअटर ४५ वर्ष पुराना भए। हामीले उत्पादन क्षमता नै बढाएनौँ, जसका कारण निगम धरासायी हुन पुग्यो। पछिल्ला दिनमा दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज ल्याएपछिमात्रै निगमको प्राण भरिन पुग्यो भन्छन् कंसाकार। 

निगमसँग भएका दुईवटा बोइङले २२ वर्ष धान्नुपर्‍यो। विगतमा गएका गन्तव्यमा तिनै थोत्रा जहाज लिएर जाने अवस्था थिएन। भएका जहाज भने पूर्ण क्षमतामा चले। अमेरिका, जापान कोरिया किन नजाने भन्ने प्रश्न नउठेको पनि होइन, तर जहाज नै नभएपछि अपेक्षा गरेर पनि केही हुने अवस्था थिएन। संसारका जुन देशमा पर्यटन उद्योग फस्टाएको छ, त्यसको पछाडि राष्ट्रिय ध्वजावाहककै प्रमुख भूमिका रहेको उल्लेख गर्छन् कंसाकार। 

सिङ्गापुरलाई चिनाएको सिङ्गापुर एयरलाइन्सले हो। थाइल्यान्डलाई चिनाएको थाइ एयरले हो। नेपाल एयरलाइन्सले जतिसक्दो चाँडो विमान थप्दै, पहुँच बढाउँदै जानेभन्दा अरु कुनै उपाय नै नभएको उनको भनाइ छ। निगमले हाल कमाइ रहेको आधाभन्दा बढी हिस्सा त डलरमा नै रहेको तथ्याङ्क पेश गर्दै उनले भने, ‘जहाज थपेर अझै सेवा विस्तार गर्नुको कुनै विकल्प नै छैन।’

विदेशी एयरलाइन्समात्रै दुई दर्जन बढी नेपाल आउँछन्। तिनले ९० प्रतिशत व्यापार गरिरहेका छन्। निगमको स्वामित्व घटेर १० प्रतिशतमा सीमित भएको छ। जहाज थपेर, गन्तव्य विस्तार गर्ने हो भने एकाध वर्षमा ‘कायापलट’ गर्नसक्ने सामर्थ्य निगमसँग रहेको कंसाकारको मनमा अझै छ। धेरै जहाज किन, व्यापार व्यवसाय बढाउ भनेर प्रेरित गर्नुपर्नेमा उल्टै गाली गरिएकामा कंसाकारलाई चित्त दुखेको छ। उनले हाँस्दै भने, ’नियम प्रक्रिया मिलाएर धमाधम जहाज ल्याऊ, सेवा विस्तार गर, लौ कंसाकार ठिक छ, तिमीले ठीक गर्‍यौ भन्नुपर्दथ्यो। मैले त दुःख पाएँ पाएँ, मसँगै काम गरेका मेरा कर्मचारीले समेत दुःख पाए।’

तीन करोड नेपालीको संस्था भएकाले विकट ठाउँमा यात्रु छैनन् भनेर सेवा बन्द गर्न मिल्दैन।

राम्रो नेतृत्व गर्ने हो भने निगमलाई व्यावसायिक बनाउन कुनै समस्या नरहेको उनको भनाइ छ। कर्मचारीमात्रै खराब हो भनेर आफूले नपत्याउने उनको दाबी छ। संसारभर नै वायु सेवामा हेरिने भनेको जहाज समयमा उड्छ कि उड्दैन भन्ने हो। यस्तै दोस्रो कत्तिको उडान रद्द हुन्छ वा पैसा कमाएको छ कि छैन भन्ने हेरिन्छ। त्यसमा निगम सबलमात्रै नभई सफल पनि रहेको तथ्य पेश गर्छन् कंसाकार।  

बाहिरबाट हेर्दा निगम खत्तम छ भनिन्छ तर अरु संस्थानभन्दा राम्रो छ। सिट अकुपेन्सी पनि राम्रो छ। गन्तव्य छान्दा नेपाली बढी भएको र पर्यटक बढी भित्र्याउन सकिने देश रोज्नुपर्ने उनको भनाइ छ। संसारभर नै थप ११ जना पर्यटक जाँदा एक जनाले रोजगारी पाउँछ। तर नेपालका लागि भने फरक छ। यहाँ सात जना थप पर्यटक आए भने थप एक नेपालीले रोजगारी पाउँछ। पर्यटक भित्र्याउने माध्यम के त? कंसाकार भन्छन्, ‘निगमको सेवा विस्तार, जहाज थप नै हो।’ 

विदेश जाने नेपालीलाई किन विदेशी एयरलाइन्समा जान दिने, निगमको जहाज भए ती अन्य एयरलाइन्सबाट जाँदै जाँदैनन्। प्रशस्त हवाइजहाज भए हामी सिधै लण्डन उडान गर्न सक्छौँ। अष्ट्रेलिया, सिङ्गापुर, पेरिस पुनः उडान सुरु हुनसक्ने उनको विश्वास छ। निगमसँग भएका दुईवटा न्यारोबडी पूर्ण क्षमतामा चलिरहेका छन्। २४ घण्टा किन नचलाएको भन्नै नपाइने अवस्था छ। 

हवाईजहाज नपुगेर आन्तरिकतर्फको उडानमा समस्या देखिएको छ। दुईवटा ट्वीनअटर जहाजले आन्तरिक सेवा विस्तार गर्न सक्दैन। ६ वटा चिनियाँ हवाईजहाज घाम तापेर बसिरहेका छन्। प्राविधिक तथा अन्य कारणले ‘वाइ १२’ र ‘एमए ६०’ जहाज चल्न सकेका छैनन्। चिनियाँ जहाजको प्रशिक्षक नहुँदा वा अन्य प्राविधिक समस्या झेल्दा निगमले प्रभावकारी सेवा दिन सकेको छैन। 

कंसाकारले आन्तरिक बजार विस्तारका लागि समेत विगतमा नै योजना बनेको स्मरण गर्छन्। तीन करोड नेपालीको संस्था भएकाले विकट ठाउँमा यात्रु छैनन् भनेर सेवा बन्द गर्न नमिल्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय उडानबाट पैसा कमाउने र आन्तरिक उडान विस्तार गर्न सकिने कंसाकारको बुझाइ छ। ट्वीनअटर, एटिआर वा बमबार्डियर जहाज ल्याएर दुर्गममा सेवा विस्तार गर्ने तथा सुगम गन्तव्यमा प्रतिस्पर्धी निजी संस्थाभन्दा सस्तो मूल्यमा सेवा दिन सकिने कंसाकार ठान्छन्। निगमले सुगम गन्तव्य खोस्ने भए भनेर निजी विमान कम्पनीलाई समस्या परेको पनि हुन सक्छ। सार्वजनिक संस्था भएकाले निगमले सेवा विस्तार गर्नैपर्ने हुन्छ। 

तीन करोड नेपालीको प्रतिव्यक्ति आयसँग जोडिएको संस्था हो निगम। आफू त्यस्तो संस्थासँग जोडिन पाएकामा उनलाई खुशी अनि गर्व पनि लाग्छ। निगमलाई राम्रोसँग लिएर जाँदा नेपाल टेलिकम र विद्युत् प्राधिकरणलाई उछिन्न सक्ने स्थिति उनी देख्छन्। ९ अर्बको कूल कमाइ गर्ने निगमले दुईवटा वाइडबडीका कारणमात्रै थप १६ अर्ब कमाइ गर्न सक्छ।  संसारभर नै शून्य जोखिम भएको व्यापार कुनै पनि हुँदैन। नेपाल सरकारले केही जोखिम उठाएर निगममा लगानी गरे त्यसबाट एकाध वर्षमा नै ठूलो प्रतिफल हासिल गर्न सकिने वातावरण बन्दै गएको छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको कूल ऋणमध्ये १ अर्ब त निगमले तिरिसकेको छ। 

आफू निमगको प्रमुख रहँदा डेढ वर्ष पहिल्यै पाँच वर्षमा १५ वटा जहाज पुर्‍याउने योजना बनाएको स्मरण उनले सुनाए। जहाज खरिदका लागि ऋण लिन डराउन नहुने उनी बताउँछन्। उनलाई यस्तो लाग्छ–भारतमा नै सेवा विस्तार गर्न सकिन्छ। नेपाल–भारत हवाई सम्झौताअनुसार ११ सहरमा हवाई सेवा दिन सकिन्छ। सवा अर्ब जनसङ्ख्या भएको देशबाट ठूलो मात्रा पर्यटक ल्याउन सकिन्छ। 

‘एयर बस’ र ‘बोइङ’को व्यापारिक लडाईंले संसारभर प्रभाव पारे पनि नेपालमा कुनै असर पारेन।

सार्वजनिक खरिद ऐनका कारण, सार्वजनिक संस्था चलाउन केही जटिलता रहेको अनुभव छ कंसाकारको। खाद्य संस्थानले चामल किन्दा र निगमले वाइडबडी जहाज किन्दा पनि एउटै ऐन आकर्षित हुने व्यवस्था सही कि गलत? चामल र जहाज किन्न एउटै ऐनले काम गर्न नसक्ने भएकाले त्यसमा सुधार जरुरी भएको उनी ठान्छन्। निर्णय, प्रक्रिया पुर्‍याएर जहाज खरिद गर्न पाउनुपर्ने र त्यसका लागि सरकार आफैँले व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ। ‘दोहोरो अङ्कको आर्थिक वृद्धि गर्ने भए सरकारी निकायमा काम गर्ने प्रक्रिया छोटो बनाउनुपर्छ।’ पछिल्ला दिनमा एयरलाइन्स समस्यामा परेका छन्। छिमेकी देश भारतको जेट एयर बन्द नै भयो। एयर इण्डिया समस्याग्रस्त छ। थाई एयरले घाटा भएर चारवटा प्रमुख कार्यकारी अधिकृत फेरिसके।

बेलाबेलामा निगमले रणनीतिक साझेदार ल्याउनुपर्ने चर्चा चल्ने गरेको छ। त्यसका लागि राजनीतिक निर्णय चाहिने कंसाकार बताउँछन्। राष्ट्रिय ध्वजावाहकमा विदेशी भित्र्याउने नहुने तर्क पनि राख्ने गरिन्छ। श्रीलङ्कामा ३५ प्रतिशत शेयर नै दिएर रणनीतिक साझेदार ल्याइयो। त्यसले संस्थालाई नाफामा मात्रै लगेन, गन्तव्यसमेत विस्तार गरेको उदाहरण छ। 

दूरसञ्चार संस्थानमा पनि शेयर बेच्ने र कम्पनी बनाउने विषयमा १५ वर्षजति चर्चा भएर एउटा निर्णयमा पुगेको बताउँदै कंसाकारले भने, ‘व्यवस्थापन सुधारका लागि रणनीतिक साझेदार वा अन्य कुन विकल्प अपनाउने भनेर सरकारले नै निर्णय गर्नुपर्छ।’ 

महङ्गो हवाई भाडा 
संसारभरका नागरिक नेपाल घुम्न चाहन्छन्। औसतमा हेर्ने हो भने नेपाल आउन चाहनेले महङ्गो हवाई भाडा तिर्नुपर्छ। भेटेका विदेशी नागरिकले आफू नेपाल आउन चाहे पनि हवाई भाडा असाध्यै महङ्गो भएको गुनासो गर्ने गरेको कंसाकार सुनाउछन्। उनले त्यसका लागि निगमले सेवा विस्तार गरेर भाडामा समेत हस्तक्षेप गर्नुपर्ने आवश्यकता औँल्याए। उनलाई लाग्छ भाडामा केही सहुलियत हुने हो भने पोखरा र काठमाडौँमा गोष्ठी तथा अन्तर्राष्ट्रिय सम्मेलनका लागि मात्रै सयौँ विदेशी संस्था आउनसक्ने अवस्था विद्यमान छ। 

‘थाइल्याण्ड जान सस्तो टिकट छ भने महङ्गो तिरेर कोही पनि नेपाल आउँदैन। पर्यटक भित्र्याउने हो भने त्यसमा ध्यान दिनैपर्छ,’ उनले भने। संसारभर नै राष्ट्रिय ध्वजावाहकले नै पर्यटक भित्र्याइरहेका छन्। पछिल्लो पटक अष्ट्रेलियाको क्वान्टस एयरले भारतीय पर्यटकलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गरायो। अष्ट्रेलियामा भारतीय पर्यटक बढे। नेपाल सरकारले पनि थप पर्यटक भित्र्याउने हो भने यस्तो रणनीति अवलम्बन गर्नुपर्छ। 

संसारभर नै राष्ट्रिय ध्वजावाहकले नै पर्यटक भित्र्याइरहेका छन्।

पछिल्लो पटक न्यारो बडी जहाजमा घुस दिइएका विषयमा समेत नेपाललगायत भारतका केही व्यक्तिसमेत जोडिएका छन्। एयरबसले आफ्नो प्रवर्द्धनका लागि नेपालका दुई व्यापारीलाई ४ करोड घुस दिएको विषय चर्चामा आए पनि त्यसमा निगम नजोडिएको उनी बताउछन्। ‘एयर बसको गुणगान गाउनलाई दिइएको थियो त्यो रकम। व्यापारीलाई दिइएको भनेको छ। व्यापारीको धर्म नै पैसा कमाउने हो। तर त्यो रकम नेपालभित्र आएको भए देखिनुपर्ने हो,’ उनले भने। 

‘एयर बस’ र ‘बोइङ’को व्यापारिक लडाईंले संसारभर नै प्रभाव परेको भए पनि नेपालमा त्यसले कुनै असर नपारेको उनको ठम्याइ छ। अन्तर्राष्ट्रिय हवाई उड्डयन सङ्गठन (आइकाओ)ले नेपाललाई कालो सूचीबाट हटाए पनि युरोपेली सङ्घले कायम राखेको छ। यसप्रति कंसाकारको आपत्ति छ। 

‘एक किसिमले हामी अन्यायमा परेका छौँ। आइकाओले कालो सूचीबाट हटाएको छ। युरोपेली सङ्घले हाम्रो फरक मान्यता छ भन्दै कालोसूचीबाट हटाउन अटेर गरिरहेको छ। मान्दैनौँ भन्छन्। त्यसलाई हटाउन हामी सबै लाग्नुपर्छ,’ उनले भने, ‘मैले एयर बसका अधिकारीलाई समेत भनेको थिए, हामीलाई कालोसूचीबाट हटाउन सहयोग गर। अहिलेसम्म केही प्रगति भएको छैन।’ निगमको सेवा जापान, दक्षिण कोरियामा विस्तार गर्न खोज्दा हामी आएर हेर्छौं भन्नुको पछाडि पनि सोही कारण रहेको उनी ठान्छन्। 

लण्डनको हिथ्रो एयरपोर्टमा एसियन मुलुकलाई तीन स्लट उपलब्ध गराउने कुरा आएको छ। हामी कालो सूचीमा रहेका कारण निगमले पाउने सम्भावना कम छ। त्यो स्लट पाएको खण्डमा निगमको वाइडबडीले सोझै काठमाडौँ–लण्डन उडान भर्न सक्ने उनको विश्वास छ। -रासस