कसरी फस्यो धिरेन्द्रका दुई छोरीको ११ करोड?

पूर्व अधिराजकुमार धिरेन्द्रका दुई छोरी सीतास्मा र दिलासा ५ वर्षदखि अदालत धाउँदै 
नारायण अधिकारी | २०७६ फागुन १३ मंगलबार | Tuesday, February 25, 2020 १०:३५:०० मा प्रकाशित

काठमाडौं– पूर्व राजा वीरेन्द्रका कान्छा भाइ धिरेन्द्र शाहका दुई छोरी ५ वषदेखि लेनदेन मुद्दामा अदालत धाइरहेका छन्। उदयपुर चौदण्डी नगरपालिका–१० का एक व्यक्तिसँगको लेनदेन विवादमा धिरेन्द्रका छोरी सीतास्मा र दिलासा जिल्ला अदालत काठमाडौं हुँदै उच्च अदालत पाटन धाइरहेका छन्।

उनीहरूलाई ५ वर्षसम्म एकपछि अर्को अदालत धाउन बाध्य बनाउने हाई प्रोफाइल व्यक्ति हुन्, विवेक उपाध्याय। हाल उच्च अदालतमा ‘कोर्ट फि’ मिनाहा गर्ने सम्बन्धमा मुद्दा विचाराधीन छ। उच्च अदालत पाटनले आइतबार मात्र उपत्यकाका तीन मालपोत कार्यालयलाई उपाध्यायको नाममा कुनै सम्पत्ति भए नभएको यकिन गरी पठाउन आदेश गरेको छ।

धिरेन्द्रका छोरीहरूको पैसा तिर्नुका सट्टा उपाध्यायले कोर्ट फि मिनाहा गरी काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्न माग गर्दै निवेदन दिएपछि यो रहस्य बाहिर आएको हो। अदालतमा मुद्दा लम्बिएसँगै धिरेन्द्रका छोरीहरूले रकम पाउने अवधि पनि लम्बिँदै जाने देखिन्छ। उच्चले कोर्ट फिको अनुमति दिएर मुद्दा पुनरावलोकन गरेमा यसको फैसला नभएसम्म उनीहरूले ११ करोड रुपैयाँ असुल गर्न पाउने छैनन्।

कसरी फसे?

उदयपुरको चौदण्डी नगरपालिका–१० का उपाध्याय पूर्व अधिराजकुमार धिरेन्द्र शाहका दुई छोरी दिलासा राज्यलक्ष्मी शाह, सीतास्मा राज्यलक्ष्मी शाह र सुरजशमसेर राणाकी छोरी रोचना राज्यलक्ष्मी राणाबीच राम्रै चिनजान थियो। उनीहरूबीच चिनजान भएकाले सामान्य भेटघाटदेखि पार्टी भोज, डिनर समेत सँगसँगै हुन्थ्यो। निकट भएका उनीहरू चारै जनाले संयुक्त लगानीमा व्यवसाय गर्ने निधो गरे।

उपाध्याय फेसन डिजाइनिङ र मार्केटिङमा पोख्त रहेकाले सोही किसिमको व्यापार गर्नेबारे सहमतिसमेत भएको थियो।

दिलासा र सीतास्मा

यी चारै जना मिलेर वार्स इन्टरनेशनल कम्पनी प्रालि दर्ता गरेर काम सुरु गर्न थाले। दिल्लीबाट कपडालगायत कच्चा पदार्थ काठमाडौं ल्याएर उनीहरूले उक्त कम्पनीमार्फत् कारोबार गर्दै आएका थिए। व्यवसाय राम्रै चल्दै आएको थियो। 

सोही क्रममा उपाध्यायले घर व्यवहार तथा व्यापार व्यवसायका लागि भन्दै धिरेन्द्रकी छोरी दिलासासँग ७५ लाख रुपैयाँ ऋण माग गरे। २०७१ पुस १४ गते दिलासाले उपाध्यायलाई ७५ लाख रुपैयाँ दिइन्। कपाली तमसुक बनाएर दिइएको उक्त रकम २०७२ जेठ मसान्तभित्र तिर्ने सहमति थियो।

दिलासासँग पैसा लिएको एक महिना नपुग्नदै उपाध्यायले २०७१ माघ १२ गते सुरजशमसेर राणाकी छोरी रोचना राज्यलक्ष्मी राणासँग पनि १ करोड १२ लाख रुपैयाँ ऋण लिए। ऋण लिनुको कारण भने एउटै थियो, घर व्यवहार र व्यवसाय। राणासँग लिएको ऋण २०७२ जेठ मसान्तभित्र तिर्नुपर्ने भन्दै सहमति भयो। सोही अनुसारको तमसुकमा उपाध्यायले ल्याप्चे पनि लगाए।

राणासँग १ करोड १२ लाख लिएको २ दिनपछि माघ १५ गते सीतास्मासँग पनि उपाध्यायले ३ करोड ५३ लाख रुपैयाँ ऋण लिए। कारण उही थियो, घर व्यवहार, व्यापार व्यवसाय र घर जग्गा कारोबार। उक्त पैसा भने १ महिनापछि फागुन १७ गते तिर्ने सहमति थियो। त्यसका लागि कपाली तमसुकसमेत बन्यो। उपाध्यायले तमसुकमा हस्ताक्षर पनि हाने।

समय बित्दै गयो। तर उपाध्यायले यी तीन जना दिलासा, सीतास्मा र रोचनासँगबाट लिएको कुल ५ करोड ४० लाख रुपैयाँ तिर्ने छाँटकाट देखाएनन्।

उनीहरू तीनै जनाले जिल्ला अदालत काठमाडौं गुहारे। अदालतले गत वर्षको पुस १५ गते यस मुद्दामा फैसला गर्दै सावाँसहित वार्षिक १० प्रतिशतका दरले ब्याजसहित कुल ११ करोड उपाध्यायले तिर्नु पर्ने फैसला सुनायो। 

जिल्ला अदालतले उक्त फैसला सुनाए पनि राणा र पूर्वराज परिवारका सदस्यहरूले भने अहिलेसम्म पैसा पाएका छैनन्। जिल्लाको यो फैसलाविरुद्ध उपाध्यायले उच्च अदालत पाटन गुहारेका छन्।

रक्सी खुवाएर नक्कली तमसुकमा ल्याप्चे हान्न लगाए : उपाध्याय

राजपरिवारको ११ करोड रुपैयाँ 'झ्वाम' पारेको भनिएका विवेक उपाध्याय भने आफूलाई फसाइएको दाबी गर्दै उच्च अदालत पाटन पुगेका छन्। उनले आफूलाई रक्सी खुवाएर लिँदै नलिएको पैसाको तमसुकमा ल्याप्चे हान्न लगाएको दाबी गरेका छन्।

उनले पुनरावेदन माग गर्दै दिएको पत्रका अनुसार उनीहरू चारै जनाबीच चिनजान भएकाले संयुक्त लगानीको वार्स इन्टरनेशनल कम्पनी प्रालि दर्ता गरी काम सुरु भएको थियो।

सोही क्रममा आवश्यक कपडा, कच्चा पदार्थ दिल्लीबाट ल्याउने क्रममा भारतीय नागरिक सुरजित सिंहसँग चिनजान भएको थियो। सुरजितले नै भनेअनुसार लगानी गरी उनीहरू चारै जनाले केही रकम समेत प्राप्त गरेका थिए। एक्कासी सुरजित सिंह बेपत्ता भएपछि उनीहरू चारै जनाको लगानी डुबेको उपाध्यायको भनाइ छ। त्यसपछि यी चार जना उपाध्याय, दिलासा, सीतास्मार रोचनाबीच विवाद भएको थियो।

‘यो विवादले उग्र रुप लिएपछि हाम्रोे वार्स इन्टरनेशनल प्रालिको व्यवसायमा समेत असर प¥यो’ उपाध्यायले भनेका छन्, ‘त्यसपछि मलाई पारिश्रमिकसमेत दिन छाडियो। मलाई अलग गरेर उनीहरू तीन जनाले सबै शेयर खरिद गर्ने निर्णय गरे। त्यसपछि शेयर बिक्री सम्बन्धमा छलफल र कागज गर्नुपर्ने भन्दै मलाई बोलाएर रक्सी खुवाएर विभिन्न कागजमा हस्ताक्षर गर्न लगाइयो। पछि बुझ्दा त्यो मैले पैसा लिएको तमसुकको कागज रहेछ।’

उपाध्यायले अनुसार खाजा र रक्सी खाएपछि २०७१ पुस १४ गते ऋण लिएको भनेर विभिन्न कपाली तमसुकमा हस्ताक्षर गर्न लगाएको आरोप छ।

एकै पटक दिलासको ७५ लाख, सीतास्माको ३ करोड ५३ लाख र रोचनाको १ करोड ५३ लाखको तमसुकमा फरक फरक मिति राखेर हस्ताक्षर गरिएको उपाध्यायको दाबी छ।

सबै तमसुकको ढाचा व्यहोरा एउटै हुनु, साक्षी एकै व्यक्ति हुनु, पैसा लिएको भन्ने तमसुकको कागजबाहेक अन्य प्रमाण नभएकोजस्ता कारण देखाउँदै उपाध्यायले पुनरावेदनको माग गरेका छन्।

लेनदेनको मुद्दामा कोर्ट फि राखेरमात्रै पुनरावेदन गर्न पाउने व्यवस्था छ। उपाध्यायसँग आइतबार उच्च अदालत पाटनले सीतास्माको हकमा ७ लाख ६ हजार १६ रुपैयाँ, रोचनाको केशमा १ लाख ५३ हजार २ सय ८ र दिसालाको मुद्दामा १ लाख ३ हजार ९ सय ८९ रुपैयाँ कोर्ट फि माग गरेको थियो।

तर उपाध्यायले कोर्ट फि तिर्नेसमेत पैसा नभएको बताएपछि उच्च अदालत पाटनले काठमाडौं, ललितपुर र भक्तपुरका तीन वटै मालपोत कार्यालयलाई उपाध्यायको नाममा कुनै जग्गा जमिन, घर भए नभएको विवरण पेश गर्न आदेश दिएको छ। 

तस्बिर : मिड डे डट कम