‘चेन्ज एन्फा’ भनेको जादुको छडी होइन : कर्माछिरिङ शेर्पा [अन्तर्वार्ता]

नेपाल लाइभ | २०७६ फागुन १४ बुधबार | Wednesday, February 26, 2020 ०८:११:०० मा प्रकाशित

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले कर्माछिरिङ शेर्पाको नेतृत्व पाएको दुई वर्ष पुग्नै लाग्यो। ‘चेन्ज एन्फा’ को नारा लगाएर नेतृत्वमा आएका शेर्पाले साच्चै परिवर्तन गर्न सकेका छन् त? 

नयाँ च्याम्पियन टिम मछिन्द्र बन्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग प्रतियोगिता गएको ३ गते सकियो। यही ११ गतेदेखि नै ‘बी’ डिभिजन लिग पनि सुरु भइसक्यो। 

मोफसलमा पनि फुटबल प्रतियोगिता एउटै मितिमा तीन वटासम्म भइरहेका छन्। पूर्वको सताक्षी गोल्डकपदेखि सुदूरपश्चिमको खप्तड गोल्डकपसम्म क्लबहरु व्यस्त छन्। 

प्रतियोगिता भएकै छन्, कुनै क्लब फुर्सदमा छैनन् भनेर नेपाली फुटबल नयाँ अवस्थामा पुगेको अनुमान गर्न मिल्ला त? कि नीतिगत र व्यवहारिक रुपमा नै परिवर्तनको आभास हुनुपर्ने हो? प्रतियोगिता हुनु, खेलाडीले पुरस्कार पाउनु तथा फिफा र एएफसीले बधाई दिनु मात्रै उपलब्धि पक्कै होइन।

विभिन्न समय रोकिँदै हुँदै गरेको ‘ए’ डिभिजन लिग २०७० मा रोकिएपछि २०७५ मा मात्रै सुरु हुन सक्यो। लामो समयमा लिग पुनः सुरु हुनु राम्रो कुरा हुँदा हुँदै पनि रेलिगेसन बिनाको लिगले खल्लो बनायो। यसवर्ष पनि लिगमा एक टिम रेलिगेसन गर्ने गरी भयो। लिग गर्नका  लागि मात्र गरेको आरोप पनि एन्फालाई लागिरहेको छ। 

नेपाली फुटबलमा एक समय अब्बल मानिएको उमेर समूहका टिम पनि पछिल्लो समयमा खस्किँदो अवस्थामा छ। राष्ट्रिय टिमका लागि मात्रै होइन तल्लो तहदेखि युवा समूहका टिमहरुलाई जोड्दै फुटबलको विकास गर्न एन्फाले के गरिरहेको छ त? 

यिनै विषयमा केन्द्रित रहेर एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग नेपाल लाइभका सरोज तामाङले कुराकानी गरेका छन्। 

कोहलपुर, बर्दिया र कैलालीमा ट्रेनिङ सेन्टर बनाउने भनेर लागिरहनुभएको छ, केही दिनअघि धनगढी पनि पुग्नुभयो, त्यसैका लागि हो? 
हो, आउने सालदेखि १० देखि १५ वटा अभ्यास सेन्टर बनाउने हाम्रो कार्यसमितिको बैठकबाट अनुमोदन भएको छ। फिफा र एएफसीको नियम के छ भने त्यसका लागि जग्गा लिजमा लिनु पर्छ। त्यसले गर्दा हामीले कोहलपुर नगरपालिकासँग ५ विघा १० कठा जमिन लिजमा लिएका छौँ। बर्दिया र कैलाली जिल्लामा पनि जग्गा लिजको लागि हाम्रो टिम त्यहाँ पुगेको थियो। अब कामहरु छिट्टै हुन्छ।

कसरी बढ्छ काम? फिफा र एएफसीबाट दिइने बजेट पनि बृद्धि भएको छ होइन?
पूर्वाधारका लागि एएफसी इनिसेसन प्रेसिडेन्टबाट आठ लाख डलर र फिफाबाट प्रेसिडेन्ट इनिसेसनबाट २० लाख डलर आउँछ।

फिफाको २० लाख डलरमध्ये १५ लाख डलर पोखरामा बन्न लागेको मल्टि परपोज ट्रेनिङ सेन्टरको लागि बजेट अनुमोदन भएको छ। यो मल्टि परपोज तीन फेजमा गर्ने भन्ने कुरा भएको छ। पहिलो चरणमा १५ लाख डलर खर्च गर्छौं। २५२ रोपनी जग्गामा बहुउद्देश्यी ट्रेनिङ सेन्टरको रुपमा हामीले विकास गर्दै छौँ।

चार वटा अत्याधुनिक होस्टेल, १३ वटा अफिसियल क्वार्टर, तीन वटा प्राकृतिक मैदान, दुई आर्टिफिसियल पिच, फुटसल, स्वीमिङ पुल, जिम हल, सम्मेलन हल, ट्रयाक एण्ड फिल्ड लगायतका भौतिक संरचना बन्ने छ।

अब हामी जुन उद्देश्य लिएर आएका थियौँ, त्यहाँ एन्फालाई पुर्‍याउन विभिन्न कठिनाइ त आइहाल्छ। कठिनाइलाई पन्छाउँदै जाने हो। समस्या समाधान गर्दै जाने हो। ‘चेन्ज एन्फा’ भनेको जादुको छडी होइन। मान्छेको संस्कारमा परिवर्तन हुनु पर्छ। 

बाहिर बसेर आलोचना गर्न र नेतृत्वमा रहेर काम गर्न केही फरक हुने रहेछ? 
म काममा रमाइलो मान्छु। बाहिर हुँदा काम गर्न नपाउने अवस्था थियो। एन्फामा निर्वाचित भएर आइसकेपछि काम गर्ने मौका पाएको छु। हामीले विभिन्न योजनाहरु बनाएर अघि बढिरहेका छौँ। हामी पाँच सिद्धान्तका आधारमा अघि बढिरहेका छौँ। 

अब आउने दिनहरुमा फुटबलका आफ्नै फिलोसोफी तयार गर्ने क्रममा छौँ। हामीले टेक्निकल डाइरेक्टर पनि नियुक्ति गरिसकेका छौँ। केन्द्रमा टेक्निकल विभाग बनाएका छौँ भने प्रदेशमा हामीले प्रशिक्षकहरु पनि नियुक्त गरिसकेका छौँ।

अहिले जिल्लाहरुमा अभ्यास केन्द्र छैन। क्लबहरु बलियो छैनन्। हामी यो सबै समस्यालाई लिएर अघि बढिरहेका छौँ। अब आउने बजेटमा जिल्ला क्लबदेखि नै सबैलाई बलियो बनाउने लक्ष्य छ। 

आर्थिक पारदर्शिताका लागि आर्थिक नियमावली, कर्मचारी नियमावली बनाएका छौँ। एन्फालाई चुस्त बनाउने काम भइरहेको छ।

एन्फाले गरेको निर्णयहरुमा एन्फाकै पदाधिकारीहरुले असन्तुष्टि पोखिरहेका हुन्छन्। एन्फाभित्रै पनि गुट छ भनिन्छ नि?
डेमोक्रेट मान्छे हुँ। फुटबल संघमा बस्ने साथीहरुले पहिले चाहिँ त्यसको प्लेटफर्मको सदुपयोग गर्न म उहाँहरुलाई सल्लाह दिन्छु। त्यो भनेको के हो भने उहाँहरुले कार्यसमितिमा कुरा राख्न सक्नु हुन्छ। कार्यसमितिमा त्यस्तो किसिमको आवजहरु सुनिएको छैन। साधारण सभामा पनि त्यस्तो किसिमको आवाजहरु सुनिएको छैन।

सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले ६-७ वटा फेक आइडी बनाएर व्यक्तिगत चरित्र हत्या गर्ने काम भइरहेको छ। कसैलाई असन्तुष्टि छ भने सम्बन्धित संस्थाको नियमअनुसार, कानून अनुसार प्लेटफर्म प्रयोग गर्नु पर्छ।

कार्यसमितिको निर्णय गर्ने, निर्णय पद्धतिमा आफू बस्ने, त्यसपछि निर्णय पद्धतिभन्दा बाहिर गएर कसैले संघको विरुद्ध आवाज उठाउँछ भने हामी कारबाही गर्छौं। खेलाडी मात्रै अनुशासनमा बसेर हुँदैन एन्फाका पदाधिकारी पनि नियममा बस्नुपर्छ। हामी चाडै नै आचारसंहिताहरु बनाउँदै छौँ। यो आचारसंहिता बनाएपछि त्यो कुराहरु समाधान हुनेछ।

अर्को कुरा के छ भने एन्फामा पहिले बोल्नै नपाउने अवस्था थियो। तर अहिले खुलेर बोल्न पाउँछन्। म के भन्छु भने प्रजातन्त्र आएपछि जति नेपालीले बोल्छन् अहिले एन्फामा त्यस्तै भएको छ।

ए डिभिजन लिगमा आर्मीविरुद्धको अन्तिम खेलमा म्यान अफ दि म्याच बनेका मछिन्द्रका एन्ड्रेससँग कर्माछिरिङ।

तपाईंको तात्पर्य गणेश थापा निलम्बनमा पर्दै एन्फाबाट बाहिरिएपछि प्रजातन्त्र आयो?
पहिले बोल्न पाउने अवस्था थिएन। अहिले त खुलेर आलोचना गर्न पाउँछन् नि त। कसैले बोल्यो भन्दैमा निचोर्ने, थिचोर्ने कार्य छैन। मलाई चाहिँ के लाग्छ भने कमिकमजोरी छ भने बोल्नु पर्छ। विरोधीको पनि कुराहरु सुन्नु पर्छ। जायज कुराहरु आफ्नो विरुद्धमा भए पनि स्वीकार गरेर ग्रहण गर्छु। म विशुद्ध नेपाली फुटबलको विकास गर्न आएको मान्छे। मबाट केही कमिकमजोरी भएको खण्डमा त्यसलाई सुधार्नु पर्छ भन्ने मेरो मान्यता छ।

नेपाली फुटबल अहिलेसम्म संस्थागतरुपमा विकास भएको छैन। तपाईंहरुलाई राम्रोसँग थाहा छ। संस्थागत विकासका लागि हामी जुटिरहेका छौँ। नेपाली फुटबलको योजना के हो त? त्यो अहिलेसम्म बनेको थिएन। योजना बन्दैछ। अहिले हामीसँग जनशक्तिको अभाव छ।

राम्रा प्रशिक्षक, व्यवस्थापक, प्राविधिक, रेफ्रि, मार्केटिङ जनशक्तिको अभाव छ। अभावै अभावका बीचमा पनि हामीले नेपाली फुटबललाई अगाडि बढाउने प्रयास गरिरहेका छौँ।

प्राविधिक विभागले अब आउने दिनमा ए, बि, सि र डि लाइसेन्स र प्रो लाइसेन्स पनि नेपालमै गर्न सक्ने व्यवस्था गर्दैछ। त्यसको लागि कामहरु भइरहेको छ।

क्लब लाइसेन्सको विषयमा नेपाललाई एएफसीले कारबाही गरेको नमिठो क्षण पनि त छ नि?
यो क्लब लाइसेनिङ एन्फाको लागि मात्रै हैन। नेपाली फुटबलको लागि निकै चुनौती छ। किनभने विगतका साथीहरुले २०१५ तिरै काम थालेको भए अहिले निकै सजिलो हुने थियो। हामी एउटा स्तरमा पुगिसकेका हुने थियौँ। गत साल एएफसीका मान्छेहरु आएर सबै क्लबसँग अभ्यास गर्ने, अन्तरक्रिया गर्ने काम गरिरहेका थिए। त्यसपछि हामीले सबै क्लबहरुकै सल्लाह र सहमतिमा लाइसेन्सको लागि पठाएका हौँ। 

तर धेरै बुदाहरु प्राक्टिकल रुपमा थिएन। हाम्रो क्लब पूर्णरुपमा व्यवसायिक भएको छैन। एकेडेमी, आफ्नै अभ्यास केन्द्र, डाक्टर, फिजियो लगायतका कुरा धेरै क्लबको छैन। फिफा र एएफसीको मापदण्ड अनुसार नभएको हुँदा कारबाहीमा परेको हो।

नेपालले एएफसी क्लब लाइसेनिङको मापदण्ड तत्काल पूरा गर्न नसक्ने भएको हुँदा एएफसी र फिफासँगको सल्लाह अनुसार हामीले यो वर्षदेखि राष्ट्रिय क्लब लाइसेन्सको व्यवस्था गर्ने निर्णय गरेका छौँ। यसमा सफल भएपछि एएफसी क्लब लाइसेन्समा अगाडि बढ्छौँ।

सुरुदेखि नै चार जिल्ला फुटबल संघ (भक्तपुर, ललितपुर, काठमाडौं, धादिङ) चाहिँ तपाईंको विरुद्धमा देखिनुको कारण के होला?
निर्वाचन भन्दा पहिलेदेखि नै उहाँहरु आलोचना गर्दै हिँड्नु भइरहेको छ। त्यो समूहले २०-२२ वर्षदेखि नेपाली फुटबलमा काम गर्न सकेन। गरे पनि नियमअनुसारले गर्न सकेन।

कसैले कसैको विरुद्धमा बोल्दा आफूले के गरेँ त? सोच्नु पर्छ। जिल्ला फुटबल संघलाई राम्रोसँग सञ्चालन गर्न सकेका छैनन्। भक्तपुर जिल्ला फुटबल संघको कुरा गर्ने हो भने त एन्फाको विधामा एउटा जिल्लामा १० वटा क्लब हुनु पर्छ। तर ३ वटा क्लबलाई राखेर निर्वाचन भएको छ। त्यहाँ पनि अवैधानिक भएको छ नि। त्यो अवैधानिक कार्य गर्ने मान्छेसँग एन्फाको पनि नराम्रो हुन्छ नै।

विवाद भयो भने घाटा त नेपाली फुटबललाई नै हो। सबैलाई बुझाएर समेटेर अघि बढ्नु भएको छ?
समेटेर नै अघि बढिरहेका छौँ। भक्तपुर जिल्ला फुटबल संघलाई विधान विपरित निर्वाचन भएको कारण हामीले कार्यक्रम गर्न चाहिँ दिएका छैनौँ।

तर बाँकि रहेका काठमाडौं, ललितपुर र धादिङलाई कुनै कार्यक्रम रोकेका छैनौँ। अरु जिल्लाले जे जति पाउँछ त्यो पाएकै छन्। जसले राम्रो काम गर्छ उसले प्रश्न उठाए राम्रो हुन्छ जस्तो लाग्छ।

ए डिभिजन लिगमा उत्कृष्ट प्रशिक्षक बनेका मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाललाई अवार्ड दिँदै कर्माछिरिङ।

अब लिगको कुरा गरौँ न, तपाईंहरुले ‘ए’ डिभिजन लिग सम्पन्न गर्नुलाई कसरी हेर्नुभएको छ? भव्यताको साथ सम्पन्न भयो अथवा अरुले भनेजस्तै आयोजना गर्नकै लागि मात्र।
यो संक्रमणकालीन समयमा लिग गर्नु भनेको धेरै कठीन हो। मैले चुनावमै भनेको थिए तत्काल हामी लिग गर्छौं। लिग नहोस् भनेर धेरै लागिपरिरहेका थिए। अघिल्लो संस्करणमा पनि हामीले विना रेलिगेसनको लिग गरेका थियौँ। यदि रेलिगेसनको लिग गरेको भए असफल हुने थियो। किनभने लामो समयदेखि ए डिभिजन लिग नहुँदा धेरै खेलाडी विदेश पलायन भएका थिए। नयाँ खेलाडी उत्पादन भएको थिएन। त्यसैले हामीले विना रेलिगेसनको लिगबाटै भए पनि पुनः सुरु गरेको हो।

यो पटक अझै क्लबलाई बलियो बनाउने अवस्था छैन। त्यसैले क्लबलाई बचाउने तर्फ हामीले ध्यान दियौँ। यो पटकको लिग अघिल्लो वर्षको भन्दा पनि सफल भएको छ। जुन सोचेको भन्दा राम्रो भएको हो। 

तर मार्केटिङको हिसाबले होस् या प्रचार प्रसारको हिसाबले यो लिग आयोजना गर्दा एन्फा चुकेको देखिन्छ नि?
लिग भन्ने कुरा के बुझ्नु पर्‍यो भने एन्फाले दर्शक ल्याउने होइन। क्लबको फ्यान कति छ भन्ने कुरा क्लबहरुले नै गर्ने हो। क्लबहरु नै अब फ्यान तान्ने काम गर्दैछ। मछिन्द्र क्लबले यसपटक फ्यान ल्याउने काम पनि गर्‍यो, तपाईले देख्नु भयो होला।

अर्को कुरा यो पटकदेखि हामीले फ्यान क्लब संस्कृति सुरु गर्दैछौँ। यसका लागि विभिन्न समितिहरु गठन गर्दैछौँ। २-३ वटा क्लबबाट सुरु गर्ने हिसाबले हामी तयारी गर्दैछौँ। सबै क्लबहरुको आफ्नै वेबसाइटदेखि सामाजिक सञ्जालमा छुट्टै नेटवर्क विकास गर्ने लगायतका कामहरु हामी गर्दैछौँ।

‘ए’ डिभिजन लिगका लागि एन्फाको स्थिर नियम भएन, आफूखुसी गर्‍यो भन्ने आरोप क्लबहरुको छ नि?
बिना रेलिगेसनको लिग क्लबहरुलाई नै सोधेर गरेको हो। यो पटक एउटा मात्र टिम रेलिगेसनमा हुने पनि क्लबहरुलाई सोधेर नै गरेको हो। यो सबै क्लबहरुसँग छलफल गरेरै भएको छ। 

अर्को वर्ष दुई वटा क्लब रेलिगेसनमा पार्ने भन्ने कुरा पनि क्लबहरुसँग नै छलफल गरेर माइनोटिङ गरिएको छ। अहिलेसम्म क्लबहरुले मलाई गुनासो गरेको छैन। अब तपाईंहरुलाई गरेको भए थाहा भएन।

नेपालको फुटबलको वातावरण पनि बुझ्नु पर्‍यो नि। खेलाडी छैन। दुई वटा क्लब रेलिगेसन हुन्छ भन्दा भाग लिन क्लब आएन भने के गर्नु? १४ क्लबमध्ये ८ वटा क्लबले भाग नलिने भन्यो भने के गर्ने? त्यस्तो हुँदा भाग नलिएको क्लबलाई रेलिगेसनमा लानु पर्‍यो। अब ४ वटा क्लबको मात्रै लिग गर्दा के गर्ने? फेरि एन्फाले ८ वटा क्लबलाई ल्याउन सकेन भन्ला।

भनेपछि एन्फालाई डर छ?
डर हैन। यो वास्तविकता हो। अहिले क्लबहरु एकदमै नाजुक अवस्थामा छन्। क्लबहरुको आर्थिक अवस्था बलियो छैन। सरकारको नीति बनाएर क्लबहरुलाई लगानी छैन।

जस्तो माल्दिभ्सको कुरा गर्ने हो भने दुई लाख ५० हजार डलर प्रत्येक क्लबलाई सरकारले दिन्छ। अब त्यहाँ १२ महिना नै क्लबले खेलाडी राख्छन्। सरकारको नीतिको कुरा पनि आउँछ। ल मानौँ क्लबलाई पैसा दिने सरकारको नीति छैन, ठीक छ। तर हाम्रो देशकै आर्थिक स्थिति पनि त ठीक छैन। जसले गर्दा क्लबहरुमा प्रायोजक पनि आउँदैनन्।

यो सबै परिवेशलाईं नियाल्दै हामीले फिफालाई नेपाली फुटबलको मेरुदण्ड भनेको लिग हो। लिगको लागि सहयोग गर्नु होस् भन्यौँ। पहिलो वर्ष गर्‍यो। अब फेरि दुई वर्षका लागि सहयोग गर्ने भएको छ।

खेलाडीको सेवा सुविधामा एन्फाले के गर्दैछ?
हामीले खेलाडीको सुविधा बढाएका छौँ। पहिले ७ हजार रुपैयाँ खाइरहेका थिए, त्यसलाई बढाएर १५ हजार पुर्‍याएका छौं। खेलाडीलाई एन्फाले तलब दिने होइन। क्लबले नै हो।

क्लबहरुले अहिले राम्रै तलब दिइरहेका छन्। राष्ट्रिय खेलाडीलाई एक लाख रुपैयाँभन्दा माथि तलब दिएको सुनेको छु। खेलाडीको आर्थिक स्थिति बलियो बनाउने भनेको हामीले लिग बलियो बनाउँदा हो।

लिग राम्रो भइसकेपछि खेलाडी पनि राम्रा निस्किन्छन्। दक्षिण एसियाका देशमा एक खेलाडी दक्षिण एसियाकै हुनुपर्छ भन्नेमा हामीले लविङ गरिरहेका छौँ। त्यो कुरा साफको मिटिङमा पनि भनि रहेका छौँ। अब विस्तारै कार्यन्वयनमा पनि आउँछ भन्ने छ। त्यसो भएपछि खेलाडीले झनै अवसर पाउँछन्।

परिवर्तन भनेको चलिरहने प्रक्रिया हो। हामीले निरन्तर प्रक्रियामा रहेर नै परिवर्तन गरिरहेका छौँ। फुटबल संघमा परिवर्तन गर्न निकै गाह्रो छ। तर एउटा कुरा भारी बोकिसकेपछि ठाउँमा पुर्‍याउनु पर्छ भन्ने मेरो मान्यता हो।

नेपाली खेलाडी उत्पादन गर्न तल्लो तहमा के कस्ता कार्यक्रम भइरहेका छन्?
तल्लो तह भनेको ६ देखि १२ वर्षका बालबालिकाबीचको उमेर समूहलाई हामीले लिएका छौँ। ६० वटा केन्द्रमा नियमित प्रशिक्षण भइरहेका छन्। त्यसमा ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरु अभ्यास गरिरहेका छन्।

विभिन्न १७ वटा नगरपालिकासँग हामीले सहकार्य गरेर ती तहका कार्यक्रमलाई अझ बलियो बनाएका छौँ। नगरपालिकाको अनुदानमा प्रशिक्षक नियुक्ति गरेर काम भइरहेको छ। आउने सालमा हामी सबै नगरपालिका र विद्यालयमा सहकार्य गरेर ग्रास रुटका प्रशिक्षणहरु सञ्चालन गर्ने छौँ।

यो पटक हामीले ३० वटा जिल्लामा ग्रास रुटका लिग सञ्चालन गर्न सफल भयौँ। हामीले क्वीक्स कप, यु-१३, यु-१५, यु-१६, यु-१८ का कार्यक्रमहरु गरीराखेका छौँ। त्यस्तै, फुटबल स्कूलको पनि अवधारणा हामीले अघि सारेका छौँ।

एक वर्षअघि तपाईंले रोकिएको एन्फा प्रेसिडेन्ट कप र राष्ट्रिय लिग पनि आगामी वर्षबाट सुरु हुन्छ भन्नु भएको थियो। के हुँदैछ?
फागुन महिनाभित्र हामीले प्रदेश लिग सम्पन्न गर्छौं। प्रदेश लिग सम्पन्न भएपछि एन्फा प्रेसिडेन्ट कप छनोट हुन्छ। एन्फा प्रेसिडेन्ट कपमा ७ टिमको सहभागिता रहन्छ। ७ टिममध्ये शीर्ष चार टिम र ए डिभिजन लिगको शीर्ष ६ गरी १० टिमले राष्ट्रिय लिगमा भाग लिने छन्। चैतको अन्तिमतिर सुरु हुन्छ राष्ट्रिय लिग। कुनै बेला ढिलो गरी सुरु हुन्छ तर हामीले प्रतियोगिताहरु गरिरहेका छौँ। 

‘चेन्ज एन्फा’ भनेर आउनु भएको थियो। भनाइ र काम गराइमा के फरक भयो?
परिवर्तन भनेको चलिरहने प्रक्रिया हो। हामीले निरन्तर प्रक्रियामा रहेर नै परिवर्तन गरिरहेका छौँ। फुटबल संघमा परिवर्तन गर्न निकै गाह्रो छ। तर एउटा कुरा भारी बोकिसकेपछि ठाउँमा पुर्‍याउनु पर्छ भन्ने मेरो मान्यता हो। 

अब हामी जुन उद्देश्य लिएर आएका थियौँ, त्यहाँ एन्फालाई पुर्‍याउन विभिन्न कठिनाइ त आइहाल्छ। कठिनाइलाई पन्छाउँदै जाने हो। समस्या समाधान गर्दै जाने हो। ‘चेन्ज एन्फा’ भनेको जादुको छडी होइन। मान्छेको संस्कारमा परिवर्तन हुनु पर्छ। 

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग गरिएकाे भिडियाे कुराकानी