राज्यमन्त्रीका सल्लाहकारबाटै किशोरी बलात्कृत

नेपाल लाइभ | २०७६ फागुन १४ बुधबार | Wednesday, February 26, 2020 १३:०३:०० मा प्रकाशित

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घलेबाट एक किशोरी बलात्कृत भएकी छन्।

सिन्धुली घर भई काठमाडौं बसेर कक्षा १२ मा पढ्दै गरेकी एक किशोरीलाई बलात्कार गरेको पाइएपछि प्रहरीले घलेलाई पक्राउ गरेको छ। काठमाडौं नयाँबजार जान बनेपामा बस पर्खेर बसेकी किशोरीलाई घलेले सम्बन्धित ठाउँ पुर्‍याइदिन्छु भन्दै आफ्नो मोटरसाइकलमा हालेर ल्याएका थिए।

बनेपाबाट काठमाडौं आउने क्रममा उनले आफू राज्यमन्त्री मानन्धरको सल्लाहकार भएको, अमेरिकाको ग्रिन कार्ड भएको र पत्नीसँगै परिवारका अन्य सदस्यसमेत अमेरिकामै भएकाे बताएर आफूतर्फ आकर्षित गरेका थिए। ती किशाेरीलाई समेत अमेरिका पठाइदिने आश्वासन दिएर गत माघ २७ गते आफ्नो फ्ल्याट टोखामा लगेर तीन दिनसम्म बन्धक बनाई बलात्कार गरेकाे महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

किशोरीले फागुन १ गते गोप्य रुपमा यस घटनाबारे परिवारलाई बताएपछि सोही सूचनाका आधारमा घलेलाई पक्राउ गरिएको र युवतीको उद्दार गरिएको बोगटीले बताए। पक्राउ परेका घलेविरुद्ध अपहरण तथा शरीर बन्धक र बलात्कार मुद्दामा अनुसन्धान भइरहेको छ। उनले बलात्कार गर्ने बेला भियग्रासमेत खाएको खुल्न आएको छ।

सांकेतिक तस्बिर