सुदूरपश्चिममा खाना महोत्सव सुरु

नेपाल लाइभ | २०७६ फागुन १४ बुधबार | Wednesday, February 26, 2020 १६:३४:०० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशको मौलिक तथा स्थानीय खानाको प्रवर्द्धन गर्न होटल व्यवसायी संघले बुधबारदेखि ‘सुदूरपश्चिम खाना महोत्सव’को आयोजना गरेको छ।

महोत्सवको पन्चकन्याद्वारा प्रदेशका नौ जिल्ला झल्काउने गरी राखिएका ९ वटा पानसमा दियो प्रज्ज्वलन, प्रदेशका सबै ९ जिल्लाकै प्रतिनिधि हुने गरी ९ वटा बेलुनको गुच्छा उडाउनुका साथै नरसिंह बजाएर महोत्सवको उद्घाटन गरिएको हो।

‘मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना, पर्यटन प्रवर्द्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना’ भन्ने मूल नाराका साथ आयोजना हुने खाना महोत्सवको समयमा विश्व नेपाली साहित्य सम्मेलन पनि खुलामञ्चमा आयोजना भइरहेको छ।

२० फागुनसम्म संचालन हुने खाना महोत्सवमा सुदूरपश्चिम प्रदेशमा उपलब्ध परिकारका स्टलहरू राखिएको आयोजक होटेल व्यवसायी संघका अध्यक्ष कलम बमले जानकारी दिए।

रैथाने खानाका पारखीदेखि आयातित खाना खान चाहनेहरूका लागि महोत्सवमा व्यवस्था रहेको पनि बमले बताए।

महोत्सवमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका स्टलहरु छन्। महोत्सवमा ग्लोबल नेप्लिज सेफ फेडरेसनद्वारा सात सय लिटरको कराइमा सुदूरपश्चिमेली परिकार फाडो पनि पकाइँदैछ।

खाना महोत्सवमा ९ वटै जिल्लामा अत्यधिक उत्पादन हुने मकै, कोदो, बेथे, फापर, जौंका परिकारहरु र प्रदेशमा रहेका विभिन्न जातजातिहरुको खानाहरु महोत्सवका मुख्य आकर्षण रहेको संघका अध्यक्ष कलम बमले बताए।

महोत्सवमा २८ वटा खानाका र ९ वटा अन्य वस्तुको स्टल रहेको छ। महोत्सव स्टल प्रवेश निःशुल्क गरिएको र स्टल समेत निःशुल्क गरिएको संघका महासचिव केशवदत्त पाण्डेयले बताए। 

सम्मेलनमा विदेशमा रहने नेपाली साहित्यकार समेत आउने भएकाले सुदूरपश्चिमको खानाको प्रचार उनीहरुमार्फत विदेशमा हुने र पर्यटक भित्र्याउन सघाउ पुग्ने आयोजकको विश्वास छ।

संघका अध्यक्ष बमले महोत्सवमा प्रदेशको स्थानीय उत्पादन प्रयोग गरी बनाएर खानाको परिकारलाई प्राथमिकता दिइएकाले प्रदेश बाहिर र विदेशमा समेत ती उत्पादनहरुको माग बढ्ने र स्थानीय उत्पादन निर्यातमा समेत सहयोग पुग्ने विश्वासले महोत्सव आयोजना गरिएको बताए।

उनले महोत्सवमा राखिएका स्टलहरुबाट सुदूरपश्चिमको मौलिक परम्परा, भेषभुषा, संस्कार र संस्कृति झल्किने बताए। बमले त्यसबाट आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

महोत्सवबाट सुदूरपश्चिम प्रदेशको खाना स्वास्थ्यवर्द्धक, अर्गानिक र स्वादिष्ट रहेको विश्वास विदेशसम्म पु¥याउने र विदेशी पर्यटकहरुलाई सुदूरपश्चिम आउन लोभ्याउने अध्यक्ष बमले बताए।

उनले महोत्सवमा प्लास्टिकको पूर्ण रुपमा निषेध गरिएकाले स्थानीय दुना, टपरी र बोहतामा खाना बाँडिने गरिने बताए।

संघले ग्लोबल नेप्जिल सेफ फेडेरेशनका केन्द्रीय अध्यक्ष लक्ष्मण भण्डारी टोली धनगढीमा आएर सुदूरपश्चिमको खानाहरुबारे अध्ययन थालेको जनाएको छ।

संघका अध्यक्ष बमका अनुसार भण्डारीले सुदूरपश्चिमको हालसम्मकै ठूलो भक्के रोटी, सिंगै खसीको वार विक्यु र एक हजार लिटरको भाँडोमा फाँडो पकाउने तयारी गरेका छन्।

उनले पोखराको प्रख्यात बार टेण्डर्स समेत प्रदर्शन गरिने जानकारी दिए।