संसद्‍मा बाबुरामको प्रश्न : यतीलाई दिन नपुगेर मातातीर्थको जग्गा खोस्न खोजिएको हो?

नेपाल लाइभ | २०७६ फागुन १४ बुधबार | Wednesday, February 26, 2020 १७:३७:०० मा प्रकाशित

काठमाडौं- समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मातातीर्थको जग्गा जानीबुझी नै मोहीका नाममा दर्ता गरेको स्पष्टीकरण दिएका छन्।

चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा रहेको जग्गा २०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा भट्टराई नेतृत्वको सरकारले व्यक्तिको नाममा दर्ता गरिदिने निर्णय गरेको थियो।

१७२ रोपनी रहेको उक्त जग्गा नेपाल ट्रष्टको रहेको जनाउँदै वर्तमान सरकारले फिर्ता गर्ने तयारी गरेको थियो।

सरकारले अघि बढाएको प्रक्रिया प्रति आपत्ति जनाउँदै भट्टराईले भने, 'राजा महेन्द्रका पालामा फर्मायसी दर्ता अनुसार ति जग्गा दर्ता भएका थिए। दरबारमा कुत बुझाएर भोगचलन गरेका हुन्। रैकर दर्ता राजा महेन्द्रकै समयमा भएको हो।’

तत्कालीन मन्त्रिपरिषद्ले‍ मोहीले कमाइ आएका नागरिकका पक्षमा जग्गा दर्ता गरिदिएको उनले प्रष्टाए।

नेता डा भट्टराइले बालुवाटारको र मातातीर्थको जग्गा नितान्त फरक रहेको बताए।

बालुवाटारको जग्गाका सम्बन्धमा तत्कालीन समयमा अध्ययन कम गरेको भएपनि मातातीर्थको जग्गाको बारेमा अध्ययन गरेर नै दर्ता गरेको बताए।

जोताहाको नाममा जग्गा दर्ता गर्ने क्रममा नीतिगत,नैतिक रूपमा गडबडी नगरेको डा भट्टराईले बताए।

मंगलबार सम्बन्धित क्षेत्रको स्थलगत अवलोकन गरेका भट्टराईले स्थानीयको चिन्ता समेत संसदमा सुनाए। उनले भने,‘त्यस क्षेत्रका जनता निद्रा विहिन छन्। फेरि खोसिने चिन्ता छ।’

कतिपयको स्थानीयको दर्ता बाँकी रहेकाले २०४६ सालमा अनधिकृत रूपमा फिर्ता गरेको जग्गालाई नै नेपाल ट्रष्टको जग्गा भनी परिभाषित गरेको प्रति उनले आपत्ति जनाए।

महान्यायधिवक्ताको कार्यालयले प्रतिवेदनकै आधारमा मन्त्रीपरिषदले निर्णय गरेको उनको दाबी छ।

नेपाल ट्रष्टका श्रीधर गौतमको नेतृत्वमा एक महिना अध्ययन गरी प्रतिवेदन तयार भएको जानकारी गराए।

पछिल्लो समय प्रधानमन्त्रीले संसदमा उक्त प्रंसग उठाएपछि दस्तावेज खोज्ने क्रममा कर्मचारीले समेत डरले थुरथुर भएको बताए।

हक दाबीको सूचना गोरखापत्रमा प्रकाशित गरेको जानकारी समेत उनले गराए।

कोही पनि हकदाबीका लागि नआएपछि जोताहाका नाममा दर्ता गरेको बताए। 

सरकारले प्रतिशोध साँध्ने गरी मातातीर्थको जग्गाको विषय उठाएको प्रति आपत्ति जनाउँदै उनले भने, ‘म पनि चोर भए, तँ पनि चोर भन्न मिल्दैन। प्रतिशोध र निषेध गरेको आशंका छ।’ 

यति होल्डिङ्सलाई जग्गा नपुगेर जोताहाको जग्गा पनि खोस्न खोजिएको हो कि भन्ने आशंका रहेको उनको भनाइ छ। (फाइल तस्बिर)

सम्बन्धित समाचारः
महान्यायाधिवक्ताको रायविपरीत बाबुराम भट्टराईले १७२ रोपनी जग्गा बाँडेको खुलासा

नेपाल ट्रष्टको मातातीर्थ र थानकोटको १७० रोपनी जग्गा पनि व्यक्तिका नाममा [सूचीसहित]

डा बाबुरामको निर्णयले नेपाल ट्रष्टको १७० रोपनी जग्गा पाउने मोही को-को हुन्? [सूचीसहित]

नेपाल ट्रष्टको जग्गा मोहीलाई दिने बाबुरामको निर्णयबारे छानबिन हुने

बाबुराम सरकारले गरेका निर्णय कानुन विपरीत : उपप्रधानमन्त्री पोखरेल

नेपाल ट्रष्टको जग्गा २१ हजार ५ सय ६२ रोपनीभन्दा बढी