बाँस्कोटा घुस प्रकरण मोड्न नेपाल ट्रस्टमा नाम जोडियो : देउवा

नेपाल लाइभ | २०७६ फागुन १४ बुधबार | Wednesday, February 26, 2020 १७:०४:०० मा प्रकाशित

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेसको विषय मोड्न नेपाल ट्रस्टको जग्गा प्रकरणमा आफूलाई समेत जोडिएको बताएका छन्।

रक्षामन्त्री इश्वर पोखरेलले मंगलबार प्रस्तुत गरेको श्वेतपत्रमा कांग्रेस सभापति देउवाले समेत नेपाल ट्रष्टको जग्गा भाडामा दिएको उल्लेख गरेका थिए। पोखरेलको भनाइको प्रतिवाद गर्दै देउवाले आफ्नो कार्यकालमा नेपाल ट्रष्टको जग्गा लिज दिन कुनै पनि निकायबाट निर्णय नभएको दाबी गरे।

कर्मचारी तहको निर्णयमा समेत प्रधानमन्त्रीका रुपमा आफूलाई  गाँसिएको भन्दै उनले सरकारी श्वेतपत्रप्रति आपत्ति जनाए। विज्ञप्तिमार्फत देउवाले ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ७० करोड कमिसन डिलको अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्न’ सरकारले यो प्रयत्न गरेको उल्लेख गरेका छन्।