नेपाली क्रिकेट टिमको विदाइ

नेपाल लाइभ | २०७६ फागुन १४ बुधबार | Wednesday, February 26, 2020 १८:३७:०० मा प्रकाशित

काठमाडौं- एसिसी टि–२० पूर्व क्षेत्रीय छनोट प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टिमलाई विदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार साँझ थाइल्यान्डमा फागुन १७ देखि २३ गतेसम्म आयोजना हुने एसिसी टि–२० पूर्व क्षेत्रीय छनोट प्रतियोगिता खेल्ने नेपाली टिमलाई विदाइ गरेको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल, क्यानका सचिव अशोकनाथ प्याकुरेल लगायतले विदाइ गरे। नेपाली टिम थाइल्यान्ड बिहीबार जाने छ। यो प्रतियोगिताको लागि त्रिवि क्रिकेट मैदानमा अभ्यास थालेको नेपाली टिम च्याम्पियन बन्ने कप्तान ज्ञानेन्द्र मल्लको दाबी छ।

प्रतियोगितामा नेपालसँगै आयोजक थाइल्यान्ड, मलेसिया, सिंगापुर र हङकङ रहेका छन्। म्यानमार, चीन र भुटानले कोरोना भाइरसको कारण प्रतियोगितामा नखेल्ने निर्णय गरेपछि पाँच राष्ट्रको सहभागिता हुने भएको हो।

फागुन १७ गते दुई खेल हुँदै छन्। उद्घाटनमा आयोजक थाइल्यान्डले सिंगापुरसँग प्रतिस्पर्धा गर्दा नेपालले मलेसियासँग खेल्ने छ। त्यस्तै, नेपालले आफ्नो दोस्रो खेलमा १८ गते हङकङसँग, २१ गते आयोजक थाइल्यान्डसँग र आफ्नो अन्तिम खेल भने २३ गते शुक्रबार सिंगापुरसँग खेल्नेछ।

प्रतियोगिताका लागि क्यानले यसअघि नै ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेको छ। नेपाली टिममा भुवन कार्कीले पुनरागमन गरेका छन् भने किशोर महतो पहिलो पटक टिममा परेका छन्।

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल, सुशन भारी, पवन सर्राफ, सन्दीप जोरा, किशोर महतो र भुवन कार्की छन्। नेपाली टिमका मुख्य प्रशिक्षकमा जगत टमाटा छन्।