ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित

नेपाल लाइभ | २०७६ फागुन १४ बुधबार | Wednesday, February 26, 2020 १९:१०:०० मा प्रकाशित

काठमाडौं- सहिद स्मारक बि डिभिजन लिग फुटबलमा बाँसबारी क्लबले ब्वाइज युनियनलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा बाँसबारीले ब्वाइज युनियनलाई ३–२ गोलअन्तरले पराजित गरेको हो। बाँसबारीको जितमा सुलेमान थापा मगर, सुरेश कुमाल र सजिन थापा मगरले गोल गरे। यता, ब्वाइज युनियनका लागि कप्तान टंक बहादुर स्याङ्तान र अरुण लिम्बुले गोल गरे।

खेलको २३औं मिनेटमा टंकले गोल गर्दै ब्वाइज युनियनलजाई अग्रता दिलाएका थिए। कप्तान टंककै गोलमा पलिहो हाफसम्म १–० गोलको अग्रता बनाएको ब्वाइज युनियनले खेलको ६०औं मिनेटमा अर्को गोल थप्न सफल भयो। यो पटक अरुणले गोल गरे।

२–० गोलले पछि परेको बाँसबारीले नाटकीय खेल खेल्दै जित हात पारेको हो। खेलको ७९औं मिनेटमा सुलेमानले गोल गरे। खेलको ९०औं मिनेटसम्म बाँसबारी २–१ गोलअन्तरले पछि परेको थियो। तर खेलको अतरिक्त समयको पहिलो मिनेटमा सुरेशले गोल गर्दै बाँसबारीलाई २–२ गोलको बराबरी दिलाए। खेलको अन्तिम समयमा सजिनले गोल गरेसँगै बाँसबारीले ब्वाइज युनियनलाई ३–२ गोलअन्तरले पराजित गरेको हो।

त्यस्तै, बुधबार नै भएको अर्को खेलमा श्री कुमारी क्लबले पुलचोक स्पोर्ट्स क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको छ।