राष्ट्रियसभामा वामदेवलाई लैजाने निर्णय सर्वसम्मत : महासचिव पौडेल

नेपाल लाइभ | २०७६ फागुन १४ बुधबार | Wednesday, February 26, 2020 १९:३७:०० मा प्रकाशित

काठमाडौं- राष्ट्रियसभामा नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्षलाई लैजाने वा नलैजाने विषयमा सत्तारुढ दलभित्र विवाद देखिएको छ।

बुधबार बिहान मात्र नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको बाहिरिएको थियो।

 तर बुधबारै नै केही मिडियामा वामदेवलाई राष्ट्रियसभा लैजाने निर्णय नभएको भन्दै सामाचार आएको थियो। यसै विषयमा नेपाल लाइभले नेकपा महासचिव विष्णु पौडेल समक्ष जिज्ञासा राखेको थियो। 

उनका अनुसार नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने सहमति बनेको बताएका छन्। उनले यो निर्णय सर्वसम्मत रूपमा नै भएको बताएका हुन्। 

'वामदेव गौतम राष्ट्रियसभामा लैजाने निर्णय सचिवालयमा सर्वसम्मत भएको हो,' महासचिव पौडेलले भने, 'हामी सचिवालयका सबै उपस्थित भएर निर्णय भएको हो।'

फागुन २१ बाट राष्ट्रियसभामा एक जनाको सिट खाली हुँदैछ। २ वर्षे कार्यकालका लागि छानिएका अर्थमन्त्री डा युवराज खतिवडाको पदावधि सकिने भएकाले सो पदमा उनै खतिवडालाई निरन्तरता दिने वा उपाध्यक्ष गौतमलाई लैजाने विषयमा नेकपा नेताहरू २ धारमा विभाजित भएका हुन्। 

खासगरी प्रधानमन्त्री ओलीपक्षीय नेताहरू खतिवडालाई निरन्तरता दिने पक्षमा छन् भने वरिष्ठ नेता माधव नेपाल र अर्का अध्यक्ष प्रचण्ड भने गौतमलाई लैजाने पक्षमा छन्।