दिल्ली मुख्यमन्त्री केजरीवाल हिंसा प्रभावित क्षेत्रमा

नेपाल लाइभ | २०७६ फागुन १५ बिहीबार | Thursday, February 27, 2020 ०६:४६:०० मा प्रकाशित

एजेन्सी– दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल बुधबार राति उत्तरपूर्वी दिल्लीको हिंसा प्रभावित क्षेत्रमा पुगेका छन्। दिल्ली उच्च न्यायालयले हिंसामा बुधबार सुनुवाइ गर्दै पीडित परिवारसम्म सरकार र प्रशासन पुग्न आदेश दिएपछि केजरीवालले हिंसाप्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। 

केजरीवालका साथ उपमुख्यमन्त्री मनिष सिसोदिया पनि थिए। 

यसका साथै प्रभावित क्षेत्रमा सुरक्षा बलले फ्ल्याग मार्च पनि निकालेको थियो। दिल्ली पुलिसले हिंसाको मामलामा १८ वटा एफआइआर दर्ता गरेको छ भने हालसम्म १०६ जनालाई पक्राउ गरेको छ। 

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले हिंसाको ३ दिनपछि प्रतिक्रिया दिँदै हिंसाको स्थितिका बारेमा जानकारी लिन बुधबार एक बैठक बोलाएको जनाएका छन्। ट्वीट गर्दै उनले प्रहरी र अन्य सुरक्षा बल प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न खटेको बताएका छन्।

मोदीले शान्ति र सौहार्दता कायम राख्न पनि अपील गरेका छन्।